आलितालका दुई ठूला योजना निर्माणमा ढिलाइ, म्याद सकिँदा पनि काम अधुरै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिकाका दुई ठूला विकास आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासीले चासो व्यक्त गरेका छन्। सुनखोला नदी नियन्त्रण योजना र गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य पटक–पटक म्याद थप हुँदासमेत पूरा हुन सकेको छैन।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २०७८ चैत १५ गते करिब साढे ८ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण कम्पनी वाइ आर पन्त कन्ट्रक्सन जे.भि संग सम्झौता गरिएको थियो। सम्झौताअनुसार तीन वर्षभित्र सम्पन्न हुनुपर्ने उक्त भवन हालसम्म पूर्ण रूपमा निर्माण सम्पन्न हुन सकेको छैन। एक पटक म्याद थप गरिसकिएको भवनको थपिएको अवधि समेत सकिएको र पुनः म्याद थपका लागि निवेदन पेश गरिएको स्रोतले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिकाका अनुसार हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ७५ प्रतिशत पुगेको छ। यद्यपि सम्झौता अवधि सकिएको लामो समय बितिसक्दा पनि भवन सम्पन्न हुन नसक्दा सेवाग्राही र स्थानीयवासी निराश बनेका छन्।

Dadeldhura Hospital

यस्तै, सुङ्खोला–जुङ्गेखोला नदी नियन्त्रण योजनाको अवस्था झनै नाजुक छ । २०८० असार २४ गते ३ करोड ३९ लाख रुपैयाँभन्दा बढी लागतमा सम्झौता भएको उक्त योजना तीन पटकसम्म म्याद थप गरिए पनि हालसम्म करिब ९ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। योजनामा करिब ५८ लाख रुपैयाँ भुक्तानी भइसकेको बताइएको छ।

स्थानीयवासीका अनुसार निर्माण कम्पनीहरूले विभिन्न कारण देखाउँदै बारम्बार म्याद थप माग्ने गरेका छन्। तर कामको प्रगति भने अपेक्षाअनुसार हुन नसकेको उनीहरूको गुनासो छ। विशेष गरी नदी नियन्त्रण योजनाको काम ढिलो हुँदा वर्षायाममा नदी कटानको जोखिम बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

स्थानीय सरोकारवालाहरूले पटक–पटक म्याद थप गर्ने प्रवृत्तिले विकास निर्माण कार्यमा असर परेको भन्दै सम्झौताअनुसार काम सम्पन्न गराउन सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने बताएका छन्।

यता गाउँपालिकाले भने निर्माण कम्पनीहरूसँग नियमित समन्वय भइरहेको र कानुनी प्रक्रिया तथा सम्झौताका शर्तअनुसार काम सम्पन्न गराउन पहल भइरहेको जनाएको छ। स्थानीयवासीले भने अब थप म्यादभन्दा पनि कामको परिणाम देख्न चाहेको बताएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.