

डडेल्धुरा : भागेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड २० लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइन्।
उपाध्यक्ष ठकुराठीका अनुसार बजेटका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा गत आर्थिक वर्षको मौज्दात रकमलाई मुख्य आयस्रोतका रूपमा लिइएको छ।
बजेटअनुसार संघीय सरकारबाट सशर्त चालु अनुदानतर्फ १८ करोड ५१ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ २ करोड ७२ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ ८ करोड ४८ लाख रुपैयाँ तथा राजस्व बाँडफाँटबाट ९ करोड ४४ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, समपूरक तथा विशेष अनुदानमार्फत पनि विभिन्न कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
व्ययतर्फ गाउँपालिकाले समपूरक कोष, गाउँपालिकास्तरीय योजना तथा कार्यक्रम, क्रमागत योजनाको निरन्तरता, विषयगत शाखा तथा क्षेत्रगत कार्यक्रम, वडास्तरीय योजना तथा चालु खर्चलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ।
बजेटअनुसार गाउँपालिकास्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, क्रमागत योजनाका लागि २ करोड ७७ लाख रुपैयाँ, विषयगत शाखा तथा क्षेत्रगत कार्यक्रमका लागि ३ करोड ६२ लाख रुपैयाँ तथा वडागत योजनाका लागि १ करोड ३७ लाख रुपैयाँ छुट्याइएको छ।
गाउँपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि सम्बन्धित शीर्षकमा आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ। आगामी आर्थिक वर्षको बजेटले विकास निर्माणका अधुरा आयोजना सम्पन्न गर्ने, आधारभूत सेवाको पहुँच विस्तार गर्ने तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका जनप्रतिनिधिहरूले प्रस्तुत बजेटले स्थानीय आवश्यकता, पूर्वाधार विकास तथा सेवा प्रवाहलाई केन्द्रमा राखेर समृद्ध भागेश्वर निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्।



