
डडेल्धुरा : आलिताल गाउँपालिका–८ को डोला गाउँमा मगर भाषा, संस्कार तथा संस्कृति संरक्षण सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मगर समुदायको मौलिक भाषा, संस्कार, संस्कृति तथा भेषभूषाको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले वडा कार्यालयको आर्थिक सहयोग र मगर संस्कृति संरक्षण सम्बर्धन समितिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
डोला गाउँमा करिब १८० घरधुरी रहेका छन्। स्थानीय अग्रजहरूका अनुसार करिब एक शताब्दीअघि गण्डकी प्रदेशका पाल्पा, प्युठान, स्याङ्जा, तनहुँ, रोल्पा, रुकुम र बाग्लुङ लगायतका जिल्लाबाट बसाइँ सरी आएका मगर समुदाय हालसम्म यस क्षेत्रमा बसोबास गर्दै आएका छन्। पछिल्लो समय आधुनिक जीवनशैली, बसाइँसराइ, वैदेशिक रोजगार तथा मातृभाषाको प्रयोगमा कमी आउँदै जाँदा मगर भाषा, संस्कार, संस्कृति र मौलिक भेषभूषा लोप हुने अवस्थामा पुगेको भन्दै समुदायले संरक्षणमा विशेष जोड दिएको छ।

यही आवश्यकतालाई मध्यनजर गर्दै आलिताल गाउँपालिका वडा नं. ८ ले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो। तीन दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक दिन फरक–फरक सहभागीहरूलाई समेट्दै जम्मा करिब १५० जना मगर समुदायका महिला, युवा, विद्यार्थी तथा अग्रजहरूको सहभागिता रहेको थियो।
असार १८ गते देखि २० गते सम्म संचालन गरिएको कार्यक्रममा नेपाल मगर संघ सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष नन्दराम बुढामगर, नेपाल आदिबासी जनजाती महासंघ डडेल्धुराका अध्यक्ष पदमबहादुर डालामगर तथा का नेपाल मगर संघ केन्द्रीय अनुशासन विभागका पूर्व सदस्य रामचन्द्र पुनमगर ले मगर भाषा, संस्कार, संस्कृति, इतिहास तथा संरक्षणका उपायबारे सहजीकरण गर्नुभएको थियो। उहाँहरूले मगर समुदायको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणमा नयाँ पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिँदै मातृभाषाको प्रयोग बढाउन र सांस्कृतिक परम्परालाई निरन्तर अभ्यासमा ल्याउन आग्रह गर्नुभएको थियो।



प्रशिक्षणमा मगर समुदायको इतिहास, भाषा, संस्कार, संस्कृति, परम्परागत भेषभूषा, लोकगीत, लोकनृत्य, चाडपर्व, सांस्कृतिक पहिचान तथा भाषा संरक्षणका उपायबारे सहजीकरण गरिएको थियो। साथै सहभागीहरूबीच अन्तरक्रिया, समूह छलफल तथा अनुभव आदानप्रदानसमेत गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले कुनै पनि समुदायको पहिचान उसको भाषा, संस्कार र संस्कृतिसँग जोडिएको उल्लेख गर्दै मातृभाषाको प्रयोग बढाउन, नयाँ पुस्तालाई आफ्नै संस्कृति सिकाउन तथा परम्परागत मूल्य–मान्यताको संरक्षण गर्न सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले मगर समुदायमा आफ्नो मौलिक पहिचानप्रति गर्वको भावना अभिवृद्धि गर्नुका साथै भाषा र संस्कृतिको संरक्षणमा सामुदायिक प्रतिबद्धता अझ सुदृढ भएको आयोजकले जनाएको छ। वडा कार्यालयले आगामी दिनमा पनि यस्ता संरक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको अन्तिम दिन मगर समुदायको मौलिक कला र संस्कृतिलाई झल्काउने मारुनी नाच, झुम्रा, फुलुवा, ख्याली, टप्पा तथा कौडा नाच प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतिहरूले सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै मगर समुदायको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको थियो।



