
डडेल्धुरा, साउन ३२ : आलिताल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कार्यरत करार कर्मचारीहरूको सम्झौता अवधि समाप्त भइसकेकाले म्याद थप नभएसम्म हाजिर नगराउन निर्देशन जारी गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालयले प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको हस्ताक्षरमा बिहिबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकासँग भएका करार सम्झौताहरूको अवधि समाप्त भइसकेको र आर्थिक वर्ष २०८३/०८४ का लागि सम्झौता म्याद थप गर्ने निर्णय हालसम्म नभएको जनाएको छ।

सूचनाअनुसार गाउँपालिकासँग नयाँ सम्झौता नभएसम्म स्वीकृत दरबन्दी तथा स्वीकृत कार्यक्रम अन्तर्गत निरन्तरता हुने बाहेकका करार कर्मचारीलाई २०८३ साउन १ गतेदेखि हाजिर नगराउन सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृत जोशीका अनुसार अहिले स्वीकृत कार्यक्रम अन्तर्गत निरन्तरता हुने बाहेकका करार कर्मचारीलाई हाजिरमा रोक लगाइएको हो , काम गर्न भने रोकिएको होइन, अहिले सम्झौता म्याद थप गर्ने निर्णय हालसम्म नभएको हुदा यो सूचना निकालिएको हो । केहि दिनमा यसको विषयमा छलफल हुने बताए । उनले स्वीकृत दरबन्दी तथा स्वीकृत कार्यक्रम अन्तर्गत निरन्तरता हुने र बाकि को हकमा भने पालिकाले निर्णय गरेर अगाडी बढ्ने बताए ।
यस सम्बन्धमा गाउँपालिकाले सबै विषयगत शाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई म्याद थप सम्झौता भएका कर्मचारीबाहेक अन्य करार कर्मचारीलाई हाजिर नगराउन पत्राचार गरेको छ। यस निर्णयसँगै म्याद थपको प्रतीक्षामा रहेका करार कर्मचारीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने भएका छन्।
गाउँपालिकाको यो निर्णयले नयाँ आर्थिक वर्षमा करार कर्मचारी व्यवस्थापन र सेवा निरन्तरताका विषयमा चासो बढाएको छ। अब म्याद थप सम्बन्धी निर्णय कहिले हुन्छ भन्ने विषयमा करार कर्मचारीहरूको ध्यान केन्द्रित भएको छ ।
पालिकाबाट जारी सूचना :




