
डोटी : डोटीको जोरायल गाउँपालिका–२, मिलचौराहाका अन्दाजी ४१ वर्षीय डम्बरबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार बिहीबार बिहान करिब ६:१० बजे भीमदत्त राजमार्गअन्तर्गत गैरीखोला नजिक सडक किनारमा एक पुरुष अचेत अवस्थामा रहेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय बुडरमा खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको नेतृत्वमा ६ सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल पुग्दा गुरुङको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।



