
काठमाडौँ :डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।भदौ ४ गते साँझ करिब ६:३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार रहेका जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विकलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ । दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।



