जन्म कैदको फैसला सुनाएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

sc mahendra

२५ असोज, धनगढी । उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर भएको छ ।
वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थारुको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।
स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारुको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी बदर हुने निर्णय सुनाएका हुन् ।
थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी बदर हुने निर्णय गरिएको अर्यालले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले थारुलाई मंगलबार दिउँसो ३ बजेभित्र प्रमाणसहित उम्मेदवारी बदर गर्न नपर्ने कारण पेश गर्ने समय दिएको थियो ।

नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत कैलालीले थारुलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीन वर्ष भन्दा बढि बसेर छुटेका थिए ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थारुलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनी फरारको सूचीमा छन् ।

२३ असोजमा वारेसमार्फत उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.