डडेल्धुरा : डडेल्धुराको आलितालमा अविरल वर्षापछि झरेको पहिरोले ग्रामीण मोटरबाटो र धानबालीमा क्षति पुर्याएको छ ।
जिल्लाको आलिताल गाउंपालिका वडा न. २ को विभिन्न गाउं बस्तीमा बर्षात पछि आएको पहिरोले धानबालीसंगै ग्रामीण सडकमा क्षति पुर्याएको हो ।

असार १२ र १३ गते आएको अबिरल बर्षाले आलिताल २ को लडुवा सेला ,मटेला, बडाखेत,तेली गाउं लगायतका विभिन्न गाउका करिब २० परिवारले लगाएको धानबालीमा पुर्ण रुपमा क्षति पुर्याएको छ । करिब २५ /३० रोपनीमा लगाइएको धानबाली बर्षातका कारण आएको पहिरोले पूर्ण रुपमा क्षति पुर्याएको वडा अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।

सोही बर्षाले गैरा गांखेत सडक खण्डमा पनि क्षति पुर्याउदा सडक अबरुद्ध भएको छ । सुरुवातमै आएको बर्षाले धानबालीमा निकै ठूलो नोक्सानी पुर्याएको छ। खेति योग्य जमिन खहरेखोलामा परिणत गरिदिए पछि स्थानिय पिडामा छन् ।
बर्षाको सुरुवातमै यस्तो समस्या आएपछि स्थानिय चिन्तित देखिन्छन् । लामो समय सम्म बर्षा भएमा ठूलो क्षति हुन सक्ने स्थानियको अनुमान छ । समयमा नै स्थानिय सरकारले क्षति भएको क्षेत्रमा अनुगमन गरी जोखिम न्युनिकरणका काम तथा राहतका कार्य अघि बढाउन स्थानियले माग गरेका छन् । समयमा नै जोखिम न्युनिकरणको कार्य नगरे ठूलो धनजनको समेत क्षति हुन सक्ने स्थानियले बताएका छन् ।
