रमेश बहादुर सिंह बझाङ, केदारस्यु गाउँपालिकामा “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना” अन्तर्गत ३८ जना स्थानीय स्रोत व्यक्तिहरूलाई मान्यता प्रदान गरिएको छ।
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित परियोजनाले स्रोत व्यक्तिहरूको दिगो भविष्य सुनिश्चित गर्न र स्थानीय विकासमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको संचालन परियोजना संयोजक रमेश बहादुर मालीले गर्नुभएको थियो भने अध्यक्षता दलित सहयोग समाजका अध्यक्ष मोहन लाल बि.कले गर्नुभएको थियो।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गणेश बोहराले स्रोत व्यक्तिहरूलाई सम्मान प्रदान गर्दै उनीहरूको योगदानलाई उच्च कदर गर्नुभएको थियो।
उहाँले स्थानीय सरकारद्वारा स्रोत व्यक्तिहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै कामलाई व्यक्तिगत जिम्मेवारीका रूपमा लिने प्रेरणा दिनुभयो।
विशिष्ट अतिथि कृषि ज्ञान केन्द्रका प्रमुख खेमराज पनेरुले यस्तो कार्यक्रमले स्रोत व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्दै समृद्धि र विकासमा टेवा पुग्ने बताउनुभयो।
कार्यक्रममा ३८ जना स्रोत व्यक्तिको पहिचान र मान्यता प्रदान गर्नुका साथै पहिलो त्रैमासिक समीक्षा बैठक सम्पन्न गरिएको छ। बैठकले परियोजनाको प्रगति र भविष्यका योजनाहरू निर्धारण गर्न महत्त्वपूर्ण योगदान दिएको छ।
उक्त कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुख, कृषकहरू, र अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष मोहन लाल बि.कले सहकार्य र समन्वयका लागि सबैलाई धन्यवाद व्यक्त गर्दै स्रोत व्यक्तिहरूलाई लगनशील भएर काम गर्न आह्वान गर्नुभएको थियो।
सहभागीहरूका अनुसार यस परियोजनाले स्थानीय स्तरमा दीगो विकास र समृद्धि मार्गप्रशस्त गर्ने विश्वास लिइएको बताका थिए।
