डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा सात दिने आधारभूत योग शिविर सफलतापूर्वक सम्पन्न भएको छ। आलिताल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा चैत्र २२ गतेदेखि सुरु भएको उक्त योग शिविर आज समापन भएको हो।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयुर्बेद शाखा प्रमुख अमर बहादुर बिष्टले जानकारी दिए। शिविर अवधिभर सहभागीहरूलाई दैनिक योग अभ्यास, प्राणायाम, ध्यान तथा स्वस्थ जीवनशैली अपनाउने तरिकाबारे प्रशिक्षण प्रदान गरिएको समेत बिष्टले बताए।
योग शिविरका प्रशिक्षक पदम बहादुर डाला र तारा देवी जोशीले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले योगका विभिन्न आसन, श्वासप्रश्वास विधि तथा मानसिक स्वास्थ्य सुदृढीकरणका उपायहरूबारे व्यवहारिक अभ्याससहित जानकारी दिनुभएको थियो।
शिविरमा सहभागीहरूले योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अनुभव साझा गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याएका छन्। सहभागीहरूले नियमित योग अभ्यासले तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा समग्र जीवनशैली सुधार गर्न सहयोग पुग्ने बताएका छन्।
शाखा प्रमुख बिष्टले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, स्थानीय तहमा योग र ध्यानलाई दैनिक जीवनको हिस्सा बनाउन सबैलाई प्रेरित गरिएको थियो।
