
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–८, डोलामा अन्तरपुस्ता संवाद (Intergenerational Dialogue) कार्यक्रम सम्पन्न भएको छ।
साउन २९ गते (शुक्रबार)आलिताल गाउँपालिका–८, डोलामा विभिन्न पुस्ताका नागरिकको सहभागितामा अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा हजुरबुबा–हजुरआमा, बुबा–आमा, नाति–नातिनी तथा नयाँ पुस्ताका प्रतिनिधिहरूलाई एउटै स्थानमा सहभागी गराई पुस्तौँदेखि समाजमा चलिआएका मूल्य–मान्यता, परम्परा, रुढीवादी सोच, अन्धविश्वास तथा स्वास्थ्यसँग सम्बन्धित गलत अभ्यासका विषयमा खुला छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो।

संवादका क्रममा विशेषगरी घरमै सुत्केरी गराउने अभ्यास, सुरक्षित तथा संस्थागत प्रसूति सेवा, महिनावारीका समयमा अपनाउनुपर्ने स्वच्छता तथा स्वास्थ्यकर अभ्यास, छाउपडी प्रथा, बालविवाह, मानसिक स्वास्थ्यसम्बन्धी कलङ्क (Stigma), खानपान तथा पोषणसम्बन्धी गलत मान्यता र अभ्यास लगायतका विषयमा छलफल गरिएको थियो।
महिनावारीका समयमा दूध तथा दुग्धजन्य पदार्थलगायत पोषणयुक्त खाना खान नहुनेजस्ता गलत धारणाले महिला तथा किशोरीको स्वास्थ्यमा पार्न सक्ने असरबारे समेत सहभागीहरूले आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा समाजमा रहेका सकारात्मक परम्परा तथा संस्कारको संरक्षण गर्दै स्वास्थ्य र सामाजिक जीवनमा नकारात्मक असर पार्ने हानिकारक अभ्यासमा परिवर्तन आवश्यक रहेको विषयमा जोड दिइएको थियो।

त्यसैगरी, मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई हेर्ने सामाजिक दृष्टिकोण, लाज तथा भेदभाव कम गर्ने र समस्या लुकाउनुको सट्टा समयमै परामर्श तथा स्वास्थ्य सेवामा पहुँच बढाउने विषयमा पनि छलफल भएको थियो।
मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई हेर्ने सामाजिक दृष्टिकोण, लाज तथा भेदभाव कम गर्ने र समस्या लुकाउनुको सट्टा समयमै परामर्श तथा स्वास्थ्य सेवामा पहुँच बढाउने विषयमा पनि छलफल भएको थियो।

स्वस्थ जीवनशैलीका लागि सन्तुलित तथा पोषणयुक्त खानपान, स्थानीयस्तरमा उपलब्ध पौष्टिक खाद्यवस्तुको प्रयोग तथा अस्वस्थ खानपानका कारण हुन सक्ने स्वास्थ्य जोखिमबारे समेत सहभागीबीच अन्तरक्रिया गरिएको थियो।
अन्तरपुस्ता संवादले समाजमा रहेका कुरीति, कुप्रथा, गलत स्वास्थ्यसम्बन्धी मान्यता तथा हानिकारक सामाजिक अभ्यास पुस्तान्तरण हुनबाट रोक्दै सकारात्मक व्यवहार र स्वस्थ अभ्यासको पुस्तान्तरणलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
विभिन्न पुस्ताबीच ज्ञान, अनुभव र सकारात्मक सोचको आदानप्रदानमार्फत स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै समुदायमा सकारात्मक सामाजिक परिवर्तन ल्याउन यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरिएको छ।
जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को आर्थिक सहयोग तथा Deutsche Gesellschaft für Internationale Zusammenarbeit (GIZ) को प्राविधिक सहयोगमा बहुउद्देश्यीय विकास समाज (MPDS), डडेल्धुराले आलिताल गाउँपालिकासँगको सहकार्यमा वडा नं. १, २, ३ र ८ मा Health Equity and Access for Last Mile Community (HEAL) परियोजना सञ्चालन गर्दै आएको छ।
परियोजनाअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हिंसाबाट प्रभावित व्यक्तिलाई लक्षित गरी आधारभूत स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा नेपाल सरकारबाट उपलब्ध स्वास्थ्यसम्बन्धी सेवाबारे समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन हुँदै आएका छन्।



