प्रदेश सांसद खगराज भट्टको खुलासा:मुख्यमन्त्री बन्नकै लागि चुनाव लडेँ

sc mahendra

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्टले मुख्यमन्त्री बन्नकै लागि चुनाव लडेको खुलासा गरेका छन्।

परशुराम नगरपालिका–४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) उद्घाटन समारोहमा बोल्दै उनले आफूलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएकै कारण चुनाव लडेको बताएका हुन्।

भट्टका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई मुख्यमन्त्री बनाइने आश्वासन दिएका थिए। म त प्रदेशमा केवल सांसद मात्र हुन्छु भन्ने थाहा पाएको भए चुनाव लड्ने थिइनँ, उनले भने।
भट्टले गठबन्धनको परिवर्तनका कारण आफू अलमलमा परेको बताएका छन्। उनले भने, “हेर्दा हेर्दै गठबन्धन सकियो, कांग्रेस प्रतिपक्षमा गयो, माओवादी कता, म कता, गठबन्धन फेरबदल हुँदै गर्दा  अहिले दुइ ठूला  दलको गठबन्धन छ ।”

उनका अनुसार यदि मुख्यमन्त्री बनेको भए डडेल्धुरामा दुई–चार अर्ब रुपैयाँको विकास बजेट ल्याउने योजना थियो। तर, अहिले आफू प्रतिपक्षमा रहेकोले ठोस काम गर्न नसकेको उनले बताए।
पूर्व भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराको उदाहरण दिँदै भट्टले भने, “कम्तीमा उहाँले जितेर भौतिक मन्त्रालय त पाउनुभयो। म त मुख्यमन्त्री बन्छु भनेर गएको, एक महिनामै मन्त्री पद सकियो। अब के गर्ने?”
प्रदेश सरकारलाई खबरदारी गर्ने आफ्नो भूमिका रहेको उल्लेख गर्दै भट्टले भौतिक पूर्वाधारमन्त्री प्रकाश देउबासँग बैकल्पिक सडक निर्माणका लागि पहल गरेको तर सरकारले सुनुवाइ नगरेको गुनासो गरे।

भट्टले अहिले बजेट विनियोजन प्रक्रिया आफूले नजिकबाट अनुभव गरेको उल्लेख गर्दै भने,आखिरमा त्यही ठाउँमा गएर हुने रहेछ, घरमै बसेर बजेट आउने भए त तपाईंहरू पनि योजना ल्याइहाल्नुहुन्थ्यो। त्यही सिंहासनमा बसेर कलम घोटेर आउने रहेछ।”उनले सत्ताको पहुँचबिना ठूला विकास योजनाहरू अघि बढाउन कठिन हुने बताए। भट्ट डडेल्धुराको क्षेत्र ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सांसद हुन ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी थिए। साथै, स्वतन्त्र सांसद डा. तारा जोशी, प्रदेशसभा सदस्य शिवसिंह ओली, परशुराम नगरपालिकाका प्रमुख र उपप्रमुख, अजयमेरु र आलिताल गाउँपालिकाका अध्यक्षलगायत नेताहरूको उपस्थिति रहेको थियो।

सांस्कृतिक पक्षलाई उजागर गर्दै कलाकार छत्र शाही र काँजल जोशीले संगीतिक प्रस्तुति दिएका थिए।

शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो ,पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ

You might also like
Leave A Reply

Your email address will not be published.