धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले पत्रकारिता क्षेत्र अहिले गम्भीर संकटको अवस्थामा पुगेको भन्दै सामाजिक सञ्जालमा फैलिँदै गएको “फेसबुके पत्रकारिता”प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमको आयोजना र सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको दुई दिने अनलाइन मल्टिमिडिया पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मियाले भने, “पत्रकारिता क्षेत्रमा चुनौती छ। फेसबुके पत्रकारहरूले चुनौती थपेका छन्। अनलाइनमा आएका समाचारको वास्तविकतामा जनता अन्योलमा छन् — सहि समाचार के हो भन्ने थाहा पाउन गाह्रो भइरहेको छ।”
उनले हालको डिजिटल युगमा पत्रकारिताको महत्त्व झनै बढेको तर त्यसै अनुसारको जिम्मेवारीपूर्ण अभ्यास नदेखिएको बताए। “कसैले फेसबुकमा स्टाटस लेख्यो, त्यसलाई समाचार मानेर फैलाइयो — यस्तो प्रवृत्तिले पत्रकारिता क्षेत्रको नै गरिमा खल्बल्याएको छ,” उनले प्रस्ट पारे।
प्रदेश प्रमुख मियाले आफू अर्घाखाँचीमा जन्मिएको भए पनि सुदूरपश्चिमको नाम, अवस्था र सम्भावनाबारे चासो राख्दै आएको उल्लेख गरे। “सुदूरपश्चिम होइन, यो त सुन्दरपश्चिम हो,” उनले भने, “तर यहाँ सरकारको दृष्टि कमजोर देखिन्छ। पत्रकारहरूले यस्ता सम्भावनाहरूको उजागर गर्नुपर्ने आवश्यकता छ।”
उनले पत्रकारिता क्षेत्रको भूमिकालाई अत्यन्त शक्तिशाली बताउँदै पत्रकारहरूको कलमले राज्यका कमजोरी देखाउने, जनतालाई सजग बनाउने र भ्रम चिर्ने काम गर्नुपर्नेमा जोड दिए। “आज संघीयताले सिंहदरबार गाउँमै ल्याएको छ। करोडौं बजेट गाउँमा पुगेको छ। तर, केही तत्वहरूले यसमा भ्रम फैलाउँदैछन्,” उनले भने, “पत्रकारहरूले सत्य सूचना दिन जरुरी छ।”
मियाले जनतालाई भ्रमित पार्ने प्रवृत्ति विरुद्ध पत्रकारले कर्तव्यबोधसाथ खरो उभिनुपर्ने बताए। “गणतन्त्रको विरुद्धमा पनि केही समूहहरूले झूठा प्रचार गरिरहेका छन्। यस्तो अवस्थामा पत्रकारिता सशक्त माध्यम हो — जनतालाई यथार्थ देखाउने,” उनले भने।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम अध्यक्ष भरत शाहले “प्रविधिको युगमा अनलाइन मल्टिमिडिया पत्रकारिता अबको आवश्यकता रहेको बताउदै तालिमले पत्रकारहरूलाई सूचना प्रवाहमा अझ प्रभावकारी बनाउने बताए।
सुदूरपश्चिमका नौ वटै जिल्लाबाट पत्रकारहरूको सहभागिता रहेको सो तालिममा अनलाइन पत्रकारिताका चुनौती, प्रविधिको सदुपयोग, र सामाजिक उत्तरदायित्व जस्ता विषयमा छलफल तथा अभ्यास हुनेछ।
