
बाजुरा : गर्भवती महिलाले सुरक्षित प्रसूति सेवाका लागि अस्पताल पुग्न पाउनुपर्ने हो। तर बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका नागरिकका लागि अस्पताल पुग्नु नै ठूलो चुनौती बनेको छ। यसको पछिल्लो उदाहरण हो– २३ वर्षीया सुमित्रा शाहीले अस्पताल पुग्न नपाउँदै बाटोमै बच्चालाई जन्म दिनुपरेको घटना।
मनबहादुर शाहीकी श्रीमती सुमित्रा सुरक्षित प्रसूति सेवाका लागि कोल्टी जाँदै थिइन्। तर बाटोमै प्रसूति व्यथाले च्याप्न थालेपछि परिवारले गाउँपालिकाको एम्बुलेन्सको सहयोग खोज्यो। तर एम्बुलेन्सका चालक बाहिर गएको र गाडीसमेत बिग्रिएको जानकारी पाएपछि उनीहरूले तत्काल एम्बुलेन्स सेवा पाउन सकेनन्।

समयमै अस्पताल पुग्न नसकेपछि सुमित्राले बाटोमै छोरालाई जन्म दिइन्। केही समयपछि गाउँका स्थानीय पुगे र सुत्केरी सुमित्रा तथा नवजात शिशुलाई स्ट्रेचरमा बोकेर कोल्टी अस्पताल पुर्याए।

पहिलो सन्तानका रूपमा छोरा जन्मिएपछि श्रीमान् मनबहादुर शाही खुसी छन्। तर अस्पताल पुग्न नपाउँदै बाटोमै श्रीमतीले सन्तान जन्माउनुपरेको पीडा पनि उत्तिकै छ। खुसीसँगै मनमा रहेको त्रास र पीडाले सुरक्षित स्वास्थ्य सेवाको अभाव कति गम्भीर छ भन्ने देखाएको छ।
अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। तर यो घटना सुखद संयोगमा टुंगिए पनि यसले जुकोटका नागरिकले भोगिरहेको स्वास्थ्य सेवाको कठिन अवस्थालाई फेरि सतहमा ल्याएको छ।

सुदूरपश्चिम प्रदेशको राष्ट्रिय सडक सञ्जालमा अझै जोडिन नसकेको एक मात्र स्थानीय तहका रूपमा चिनिएको स्वामीकार्तिक खापर गाउँपालिकाका नागरिकले सामान्य आवतजावतदेखि स्वास्थ्य उपचारसम्म अनेकौँ समस्या भोग्दै आएका छन्। जुकोटबाट कोल्टी पुग्न कर्णाली नदि पार गर्नुपर्ने हुन्छ । विशेषगरी गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक र आकस्मिक बिरामीले समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा जोखिम मोल्नुपर्ने अवस्था छ।
स्थानीयका भगीरथ शाहीका अनुसार गाउँपालिकामा एम्बुलेन्स भए पनि नियमित रूपमा सञ्चालनमा आउन नसक्ने समस्या छ। एम्बुलेन्स बिग्रिने र मर्मतपछि पनि भरपर्दो सेवा दिन नसक्ने अवस्था रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस बाहदुर शाहीले बताएका छन्।
यसअघि केही समय सञ्चालनमा आएको कर्णाली नदीमा आधारित किस्ती सेवा पनि वर्षायाममा पानीको बहाव बढेपछि बन्द भएको थियो। पानीको बहाव घटेर पुनः सञ्चालन गर्न सकिने अवस्था हुँदा पनि सेवा सुरु हुन नसकेको स्थानीयको गुनासो छ।
किस्ती सेवा पुनः सञ्चालन गर्न सकिने अवस्था हुँदाहुँदै पनि गाउँपालिका सरकारले चासो नदेखाएको स्थानीयको आरोप छ। तर शाखाप्रमुखका अनुसार किस्ती बिग्रेकाले सञ्चालनमा ल्याउन नसकेको बताए । नागरिकलाई सहज आवतजावतको व्यवस्था मिलाउने र आकस्मिक स्वास्थ्य सेवामा पहुँच पुर्याउने विषयमा स्थानीय सरकार गम्भीर बन्न नसकेको नागरिकको भनाइ छ।
एउटी गर्भवती महिलाले सुरक्षित प्रसूति सेवाका लागि अस्पताल पुग्न नसकेर बाटोमै सन्तान जन्माउनुपर्ने अवस्था आउनु गम्भीर सार्वजनिक सरोकारको विषय हो। एम्बुलेन्स हुँदाहुँदै चालक र बिग्रिएको गाडीका कारण सेवा पाउन नसक्नुले स्थानीय स्वास्थ्य तथा आपत्कालीन यातायात व्यवस्थामाथि प्रश्न उठाएको छ।
स्वामीकार्तिकका नागरिकले कहिलेसम्म यस्तै सास्ती भोग्नुपर्ने ? गर्भवती महिलाले अस्पताल पुग्न नपाउँदै बाटोमै बच्चा जन्माउनुपर्ने जोखिम कहिलेसम्म मोलिरहने ? आकस्मिक बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउने जोखिमबाट कहिले मुक्ति पाउने ? यी प्रश्नको जवाफ स्थानीय सरकारसँग नागरिकले खोजिरहेका छन्।
विकासका ठूला आश्वासनभन्दा अहिले जुकोटका नागरिकलाई सुरक्षित आवतजावत, नियमित एम्बुलेन्स सेवा, भरपर्दो वैकल्पिक यातायात र सहज स्वास्थ्य उपचारको आवश्यकता छ। गर्भवती महिला तथा आकस्मिक बिरामीका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग छ।
जनताको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील विषयमा गाउँपालिका सरकार अब पनि मौन बस्न मिल्छ ? एम्बुलेन्स नियमित सञ्चालन गर्ने, किस्ती सेवा पुनः सुरु गर्ने र नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने विषयमा स्वामीकार्तिक खापर गाउँपालिका सरकारले तत्काल ध्यान दिन जरुरी छ।



