
३१ असार, घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफ्नो राजीनामाको जानकारी गराएका हुन् ।

केही दिनअघि मन्त्री गुप्ताको घुस लिएको भनिएको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि उनको चौतर्फी विरोध भएको थियो ।

विपक्षी दलहरूले उनलाई पदबाट राजीनामा दिनुका साथै कानुनी कारबाही अघि बढाउन माग गरेका थिए ।
सार्वजनिक अडियो रेकर्डका अनुसार, गत पुस/माघ महिनामा काम गरिदिने भन्दै मन्त्री गुप्ताले केही रकम लिएका थिए ।
अडियोमा मुख्यतः कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्ति र पोखराको जग्गा सम्बन्धी कुराकानी उल्लेख छ ।
मन्त्री गुप्ताले विभिन्न जिल्लाका आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग’ माग्ने र माग पूरा नभए अन्तर मन्त्रालय सरुवा गरिदिने भन्दै धम्क्याउने गरेको समेत आरोप लागेको छ ।



