
रमेशबहादुर सिंह, बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–९ चौड घर भएकी ४५ वर्षीया रिता मगर स्नेहीले माइतिघर थाहा नहुँदा अहिलेसम्म पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन्। पाँच वर्षदेखि प्रयास गर्दा पनि उनले नागरिकता नपाएको उनका पति लालबहादुर स्नेहीले बताए।
२०५९ सालमा विवाह बन्धनमा बाँधिएकी रिताले दुई छोरीकी आमा भइसकेकी छन्। तर, नागरिकता नहुँदा उनी वैधानिक रूपमा अझै ‘पहिचानविहीन’ जीवन बिताइरहेकी छन्।

रिता सानैमा पाल्पा जिल्लाको तानसेन बजारस्थित फुपुको होटलमा बस्ने गर्थिन्। त्यहीँबाट उनी रोल्पाका एक व्यक्तिसँग बझाङ आइपुगेकी थिइन्। तर माइतिघर, जन्मस्थान र बाबुआमाको पहिचानसम्बन्धी स्पष्ट जानकारी नभएकाले उनले नागरिकता प्रक्रिया अघि बढाउन सकिनन्।
वडादेखि सिडिओ कार्यालयसम्म पटक–पटक धाइरहँदा जन्म प्रमाणपत्र माग गरिँदा उनी निरुत्तर हुने गरेको श्रीमान् स्नेही बताउँछन्। पाल्पासहितका सम्भावित स्थानहरूमा बुझबुझाउ गर्दा पनि रिताले आफ्ना आफन्त चिन्न सकिनन्।

वडाबाट सरोकारवालाको सरजिवन मुचुल्का तयार गरिए पनि सिफारिस दिन वडाले अस्वीकार गरेको गुनासो छ।
“हामी विदेशी होइनौँ, यही देशका नागरिक हौं, तर नागरिकता बिना हाम्रो अस्तित्व नस्वीकृतजस्तै भएको छ”, श्रीमान् स्नेही भन्छन्, “आर्थिक कारोबारदेखि घरायसी कामकाजमा समेत समस्या भइरहेको छ।”
स्थानीय महिला अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले पनि रिताको नागरिकताको पहलमा चासो देखाए पनि प्रशासनिक तहमा अझै निष्क्रियता देखिएको छ।
नागरिकता ऐन अनुसार बुबाआमाको पहिचान नभए पनि प्रमाणसहित नागरिकता दिन सकिने व्यवस्था छ। तर कानुनी प्रावधानअनुसार चल्न प्रशासनले तत्परता नदेखाएको भन्दै स्नेही दम्पत्तिले गुनासो गरेका छन्।
रिता जस्ता पहिचानविहीन व्यक्तिहरूको समस्या सम्बोधन गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ।



