काठमाडौँ : आज सोमबारको दिन नेपाली समाजले एउटा भयावह क्षण अनुभव गर्यो। भ्रष्टाचार, नातावाद र सामाजिक अन्यायविरुद्ध जेन–जी पुस्ताले उठाएको आवाजलाई शान्तिपूर्ण रूपमा दबाउने प्रयासले प्राणघातक रूप लिँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूबाट संकलन गरेको तथ्याङ्कअनुसार, ३ सय ४७ जना घाइते भई उपचाररत छन्। काठमाडौँको सिभिल अस्पतालमा ३ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज मा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाले ज्यान गुमाएका छन्।
यी सबै तथ्याङ्कहरूले देशका अस्पतालका शैयामा अहिले पीडा, आक्रोश र आँसुको कहानी बोकेको छ। चिकित्सकहरू घाइतेहरूको जीवन बचाउन खटिरहेका छन् भने पीडित परिवारका रोदनले अस्पताल परिसर नै करुणामय बनेको छ।
मृत्यु हुनेहरू अधिकांश युवा छन् — जसले आफ्नो भविष्य मात्र होइन, देशको भविष्य पनि बोकेको पुस्ता हो। उनीहरूको निस्क्रिय शरीरले सडकमा पोखिएको रगत आजको राज्यव्यवस्थालाई ठूूलो प्रश्नचिन्ह लगाइरहेको छ।
प्रदर्शनमा संलग्न युवाहरू अझै पनि सडकमै छन्। कर्फ्यू जारी भए पनि उनीहरूको आवाज थामिएको छैन। “हामीलाई गोलीले डराउन सक्दैन,” भन्ने उनीहरूको उद्घोषले काठमाडौंका सडक अझै गुन्जिरहेका छन्।
यस आन्दोलनले देखाएको पीडा केवल तथ्याङ्कमा सीमित छैन। १९ जना शवले जनताको आक्रोशलाई अझ बल दिएको छ, ३४७ जना घाइतेका चीत्कारहरूले व्यवस्था परिवर्तनको मागलाई अझ स्पष्ट बनाइदिएको छ।
