
डडेल्धुरा : बझाङमा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। दुर्घटनामा आमा, उनका दुई छोराछोरी र भतिजीको ज्यान गएपछि बुङ्गल नगरपालिका–१० टुमेडा गाउँ शोकमा डुबेको छ।
सोमबार बुङ्गल नगरपालिका–१० टुमेडामा दुर्घटना भएको हो। टुमेडाबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र ०१००१ ह ७९९८ नम्बरको अटो रिक्सा सडकबाट करिब ९ सय मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा बुङ्गल नगरपालिका–१० की ३५ वर्षीया राजमति महरा, उनका ७ वर्षीय छोरा रियास, २ वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको मृत्यु भएको छ। अटोमा सवार भतिजा विक्रम महराले भने हाम फालेर ज्यान जोगाएका छन्।

अटोमा चालकसहित ६ जना सवार थिए। अटो चालक बुङ्गल नगरपालिका–१० का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुङ्गल नगरपालिका–१० का वडाध्यक्ष प्रेम ओखेडाका अनुसार मृतकहरू दशैं–तिहारको बिदामा घर आएका थिए। बिदा सकिएपछि उनीहरू पढाइका लागि डडेल्धुरा जान लागेका थिए।
राजमतिका श्रीमान् दीपक निम्न माध्यमिक तहका स्थायी शिक्षक हुन्। उनी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–स्थित गणेश माध्यमिक विद्यालय बडालमा अध्यापन गराउँदै आएका थिए। मृतक छोरा रियास र भतिजी तारा पनि सोही विद्यालयमा अध्ययनरत थिए।
गत साउनमा दीपकको बुङ्गल नगरपालिका–८ तोलीचौरस्थित सत्य माध्यमिक विद्यालयमा सरुवा भएको थियो। वडाध्यक्ष ओखेडाका अनुसार दुर्घटनामा श्रीमती, छोरा, छोरी र भतिजी गुमाएपछि दीपक गहिरो पीडामा छन्। ‘पढाइका लागि बालबच्चा र भतिजी लगेर डडेल्धुरा जान लाग्नुभएको रहेछ। बाटोमै यस्तो दुःखद घटना भयो। गाउँ नै शोकमग्न छ,’ वडाध्यक्ष ओखेडाले भने।
एउटै परिवारका चार जनाको एकैपटक ज्यान गएपछि टुमेडा गाउँ शोकमा डुबेको छ।



