बाजुरा–हुम्ला सीमा विवादले झडप,पाँच जना घाइते

sc mahendra

डडेल्धुरा । बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवाद चर्किँदा स्थानीयबीच झडप भएको छ । प्रहरी चौकी निर्माण र सीमा निर्धारणको विषयलाई लिएर तनाव बढेपछि अवस्था झडपमा परिणत भएको हो ।

मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका बासिन्दाले सीमा विवाद उठाउँदै विरोध जनाएपछि बाजुराका स्थानीयसँग उनीहरूको भिडन्त भएको हो । लामो समयदेखि कायम रहेको सीमा विवाद पछिल्लो समय थप उग्र बन्दै गएको देखिएको छ ।

झडपका क्रममा प्रहरीसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा हिमाली गाउँपालिका–३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, बिच्छिया प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी तथा गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन् । उनीहरूको ढाड, घाँटी, छाती र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यसैबीच, हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत शैपाल हिमालको बेस क्याम्पतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुगेका बेला तनाव थप चर्किएको थियो । टोलीले ड्रोनमार्फत दृश्य खिच्न खोज्दा थाली गाउँका स्थानीय आक्रोशित बनेपछि विवाद अझ बढेको बताइएको छ ।

घटनापछि सञ्चार सम्पर्क अवरुद्ध हुँदा मेयर हमाल नेतृत्वको टोलीको अवस्था पनि स्पष्ट हुन सकेको छैन । उता, सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर, थालीका स्थानीयले उक्त क्षेत्र आफूहरूको परम्परागत भोगचलनमा रहेको दाबी गर्दै चौकी निर्माणको विरोध गर्दै आएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.