जेष्ठ २२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निशाना बनाएर सुरु भएको यो चर्चाले सोमबार प्रतिनिधि सभा बैठक पनि ततायो । भारतबाट प्रधानमन्त्री भैंसी चढेर आएको भन्ने भनाइले आपत्ति, नियमापत्ति र बहस सबै उत्पन्न गराउँदा प्रतिनिधिसभा बैठकमा केही बेर तमासा नै भएको थियो ।
आफ्नो भारत भ्रमणको बारेमा उठेका सवालहरूमा प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा जवाफ दिए । उनले तर्क कुतर्क गरेर आफ्नो भारत भ्रमणलाई उपलब्धी विहीन बनाउन खोजेको गुनासो गर्दै भैंसीमा चढेर आएको भन्दै मजाक पनि बनाइएको बताए । उनले भने, ‘राम्रो काम गर्दा पनि जस दिइएन, तर्क कुतर्क गरेर आफ्नो भारत भ्रमणको उपलब्धिलाई छायाँमा पारियो, भैंसी चढेर आएको भनेर मजाक पनि बनाइयो । ’
तर जब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैंसी चढेर स्वदेश फर्किएको बताएपछि संसदमा हङ्गामा नै भयो । रास्वपा सांसद खनालले भने ‘प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु भएछ । ’
खनालको भनाइप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति आपत्ति जनाए । उनले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गरे । यसपछि एमालेसहितका सांसदहरू उठेर विरोध जनाए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए ।
यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिए । यसपछि सत्तापक्षका सांसदले टेबुल ठोकेर स्वागत गरे भने प्रतिपक्षी सांसद आपत्ति जनाए । लगत्तै नेकपा एमालेका सांसद रघुजी पन्त र रास्वपाका सांसद रवि लामिछाने कडा प्रतिवाद गरे । पन्तले भने, ‘भैंसी चढेर आएको कुरा पहिला प्रधानमन्त्रीले गर्नु भएको छ, संसद्को रेकर्डबाट हटाउने हो भने उहाँले बोलेको पनि हटाउनु पर्यो, भारत भ्रमणको विषयमा प्रधानमन्त्री ‘डिप्लोमेसी प्रेसर’ मा परेका थिए, अजित डोभललाई भेटेपछि यति गर्दैनस् भने विजुली सम्झौता पनि हुँदैन भनेपछि प्रधानमन्त्रीले दबाबमा आएर कालापानीसँगै बङ्गलादेशको बाटो साट्ने कुरा गरेका हुन् । ’
यस्तै रवि लामिछानेले भने, ‘प्रधानमन्त्रीले स्वयं आफैले भनेको शब्दलाई प्रधानमन्त्रीले भन्दा केही नहुने दृष्टान्त स्वरुप हाम्रा संसद्ले भन्दा त्यो रेकर्ड बाट हटाउने भए ठीक छ हटाउ । यो हटाउने हो भने प्रधानमन्त्रीले बालेको शब्द पनि हटाऔं । यो सत्ता पक्षको सदन हैन प्रतिपक्षको सदन हो ।त्यसैले प्रतिपक्षको उपस्थितिलाई प्रतिपक्षले दादागिरी देखाउन नखोजोस् यस्तो संवेदनशील विषयमा कुरा गर्दा ३० सेकेन्ड १ मिनेटको समय दिएर यो सदनले मजाक गर्न खोजेको हो ।’
सत्ता पक्षले भारतसँग मूर्रा जातको राँगो ल्याउने सहमति सात वर्ष अघि नै भएको प्रष्टिकरण दिदैँ प्रधानमन्त्री दाहालको बचाउ गर्दै आएको छ । यसपटक आउनु संयोग मात्र भएपनि प्रधानमन्त्री दाहाललाई मजाक बनाएको आरोप पनि सत्ता पक्षले लगाउँदै आएको छ ।