
धनगढी : दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट ३० विधाका खेलाडी छनोट गर्न लागिएको हो । प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको छनोट प्रतियोगिता मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ ।

कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन धनगढी रङ्गशालामा गरिएको हो । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री खगराज भट्टले गरेका थिए।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोट्र्सका प्रतियोगिता सञ्चालन हुनेछन् ।
त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन गरिनेछ । डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुनेछ ।
प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने परिषद्ले जनाएको छ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहनेछ ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले खेलकुदले मानिसलाई अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रदेश सरकारले आफ्नो क्षमता र स्रोतअनुसार खेल क्षेत्रको विकासका लागि सहकार्य गर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।



