२७ साउन,बझाङ। जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्ने मष्टा गाउँपालिकाका ८९ वर्षीया गिठीदेवी जोशी नागरिकता पाएकि छिन् ।
गिठीदेवीले शुक्रबार मात्रै ८९ बर्षमा नागरिकता पाइन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ सोही गिठीदेवी हुन् । उनी नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताबिहीन थिइन् । सरकारले दिने सेवाबारे उनी जानकार नै थिइनन्, जसले उनी सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । ‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौं’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।
नातिभन्दा पछि बज्यैको नागरिकता
मष्टा गाउँपालिका(३ भातेखोलाका कृष्णप्रसादले २०२० सालमा कान्छी श्रीमतीको रूपमा गिठीदेवीलाई भित्र्याए ।
जेठी श्रीमतीबाट एउटा मात्र छोरा हुँदा थप सन्तान प्राप्त गर्न गिठीदेवीलाई ल्याएका थिए । तर, उनीबाट सन्तान भएनन् । जेठी श्रीमतीबाट २०१९ सालमै जन्मिएका थिए गौरीलाल । उनी अहिले ६१ वर्षका भए ।
गौरीलालले २०४२ सालमै नागरिकता लिए । गौरीका छोराछोरीले पनि नागरिकता लिइसकेकी छन् ।
कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाएनन् । पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ ।
उनले भनिन्, ‘सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो । अरू आवश्यकता केही भएन । त्यसैले बनाउन पाइएन ।’
गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उनीहरूले घरमै आएर नागरिकता दिएको गौरीलालले बताइन् ।