डडेल्धुरा – डडेल्धुरामा विभिन्न अपराधमा फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
बाल यौन दुर्व्यवहार मुद्दामा पाँच महिना १५ दिन कैद, ३५ हजार जरिवाना, ३५ हजार क्षतिपूर्ति तथा १ हजार ४ सय पीडित राहत कोष जरिवाना तोकिएका आलिताल गाउँपालिका–६ फल्लेखर्कका २४ वर्षीय विक्रमबहादुर विष्ट पक्राउ परेका छन्।
त्यसैगरी, बिना इजाजत सालको रुख कटानी मुद्दामा तीन महिना कैद तथा प्रति व्यक्ति १ लाख ३२ हजार ८ सय जरिवाना तोकिएका परशुराम नगरपालिका–७ का ४२ वर्षीय हर्कबहादुर धामी, ४६ वर्षीय महावीर धामी र ६० वर्षीय चक्र धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
डडेल्धुरा जिल्ला अदालतका विभिन्न मितिको फैसलाले सजाय तोकिएका उनीहरू फरार रहेका थिए। सोमबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले चारै जनालाई पक्राउ गरेको हो।
