कैलालीमा भाउजुको हत्या गर्ने देवर सार्वजनिक

sc mahendra

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा २० वर्षीया सुत्केरी महिला तुलसी नाथको हत्या अभियोगमा उनका सहोदर देवर नवीन नाथलाई प्रहरीले सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाले आइतबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपित नवीन नाथलाई सार्वजनिक गरेको हो। तुलसी नाथको शव शुक्रबार बिहान घर नजिकैको नालामा फेला परेको थियो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार, घटनास्थलको अनुसन्धानबाट हत्या योजनाबद्ध रूपमा गरिएको पुष्टि भएको छ।

प्रहरी पुग्दा शव नालाबाट निकालेर घरको आँगनमा राखिएको थियो,उनले भने, शव जाँच गर्दा कानको सुन निकालिएको अवस्थामा फेला परेको थियो।

अनुसन्धानका क्रममा आरोपित नवीन नाथले राति करिब १२ बजेतिर तुलसी नाथको कोठामा पसेर सुतिरहेको अवस्थामा नाक, मुख र घाँटी च्यापेर हत्या गरेको स्वीकारेका छन्। ढोका खुल्ला रहेको अवसरमा उनी कोठामा प्रवेश गरेर अपराध गरेको खुलेको छ।

हत्या पछि नवीनले मृतकका गरगहना निकाली शवलाई घरअगाडिको नालामा फालेका थिए। गरगहना नजिकैको ढुंगामुनि लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले अभियुक्तकै बयान अनुसार गरगहना बरामद गरेपछि हत्या पुष्टि हुने प्रमाण थप बलियो बनेको बताएको छ।

मृतक तुलसीले १६ दिनअघि मात्र एक नवजात शिशुलाई जन्म दिएकी थिइन्। हाल शिशुको अवस्था सामान्य रहेको छ। घटनाको बेला मृतकका सासू–ससुरा पहाडमा रहेको र श्रीमान् रोजगारीका लागि भारतमा भएको जानकारी प्रहरीले दिएको छ।

माइती पक्षले आइतबार जाहेरी दिएपछि पोष्टमार्टम प्रक्रिया सुरु गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.