
बैतडी : बैतडीमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्। सिगास गाउँपालिका–९ चौखाम, चौपाताका अन्दाजी १७ वर्षीय अनिल विकको सेकुनाडी भीरबाट लडेर मृत्यु भएको हो।

वडाध्यक्ष कृष्ण धामीका अनुसार बुधबार साँझ करिब ७ बजे बझाङको देउलेकबाट सामान लिएर घर फर्किने क्रममा विक भीरबाट करिब डेढ सय मिटर तल खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको उनले बताए।

उदयदेव माध्यमिक विद्यालय गन्सुरमा कक्षा १० मा अध्ययनरत विकको निधन भएपछि चौखाम गाउँ शोकमा डुबेको छ। यसैगरी, सिगास गाउँपालिका–७ थलाका अन्दाजी ३७ वर्षीय उद्धवसिंह धामी भीरबाट लडेर गम्भीर घाइते भएका छन्।
बझाङको देउराबाट सामग्री लिएर घर फर्किने क्रममा बोरीगाउँनजिकै बाटोमाथिको भीरमा भारी ठोक्किएपछि उनी लडेर सेती नदीको किनारमा खसेका थिए। स्थानीय सूर्यबहादुर बोहराका अनुसार भीरबाट लडेर घाइते भएका धामीको धनगढीमा उपचार भइरहेको छ।



