
धनगढी : जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा डिजिटल प्रविधिको प्रयोगमार्फत पत्रकारितालाई तथ्यपरक, विश्वसनीय र अनुसन्धानमूलक बनाउने उद्देश्यले कैलालीको धनगढीमा तीनदिने पत्रकारिता तालिम सुरु भएको छ ।
अग्रलेख मल्टिमिडियाको आयोजना , सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना र युनिसेफको समन्वय / सहकार्यममा ‘जलवायु पैरवी, विपद् व्यवस्थापन र डिजिटल सञ्चार स् एआई तथा डेटामा आधारित पत्रकारिता तालिम’ शुक्रबारदेखि धनगढीमा सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जलवायु परिवर्तन र विपद्का विषयमा सञ्चारमाध्यमले अनुसन्धान, अध्ययन तथा तथ्याङ्कमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् । जलवायु परिवर्तनले निम्त्याएका चुनौती र विपद्का जोखिमबारे नागरिकलाई समयमै सुसूचित गराउन पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
उनले जलवायु परिवर्तन र विपद्सम्बन्धी घटनालाई सामान्य समाचारका रूपमा मात्र प्रस्तुत नगरी तिनका कारण, प्रभाव, जोखिम र समाधानका उपायको गहिरो विश्लेषणसहित समाचार सामग्री उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढी, पहिरो, डुबान र खडेरीलगायतका विपद्का जोखिम बढ्दै गएको सन्दर्भमा सञ्चारमाध्यमले तथ्य, प्रमाण र अनुसन्धानमा आधारित सूचना प्रवाह गर्नुपर्ने आवश्यकता झन् बढेको छ ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, जलवायु पैरवी, डिजिटल सञ्चार, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग र डेटा पत्रकारिताका विभिन्न पक्षमा प्रशिक्षण दिइनेछ । तालिममा वातावरण विज्ञ रमेश भुसाल तथा एआई र डेटा पत्रकारिता विज्ञ अरुण कार्कीले प्रशिक्षण दिनेछन् ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका २४ जना पत्रकार सहभागी तालिममा समाचार सङ्कलन, तथ्याङ्कको खोज तथा विश्लेषण, सूचनाको प्रमाणीकरण, एआई उपकरणको जिम्मेवार प्रयोग र अनुसन्धानमूलक समाचार उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिने आयोजक संस्था अग्रलेख मल्टिमिडियाका कार्यकारी निर्देशक तथा सम्पादक हरि जोशीले जानकारी दिए ।
जलवायु परिवर्तन र विपद्का घटनाबाट सुदूरपश्चिम प्रदेशसमेत प्रभावित हुँदै आएको अवस्थामा स्थानीयस्तरका समस्या, जोखिम र समाधानका उपायलाई तथ्य तथा प्रमाणसहित सार्वजनिक बहसमा ल्याउन तालिम उपयोगी हुने अपेक्षा गरिएको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना र युनिसेफको सहकार्यमा सञ्चालन भइरहेको तालिममा प्रदेशको विपद् अवस्था, जलवायु परिवर्तनका प्रभाव तथा डिजिटल प्रविधिको प्रयोगमार्फत तथ्याङ्कमा आधारित पत्रकारिता गर्ने सीप प्रदान गरिने अग्रलेखका निर्देशक योगेश रावलले जानकारी दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्ट, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्ट तथा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गहेन्द्र बमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिममार्फत सुदूरपश्चिमका पत्रकारको विषयगत ज्ञान, अनुसन्धान क्षमता र डिजिटल सीप अभिवृद्धि गर्दै जलवायु तथा विपद्का सवालमा जिम्मेवार, तथ्यपरक र प्रभावकारी पत्रकारिता प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले राखेको छ ।



