
मङ्सिर महिनाको १२ गते घरमा कुटुम्ब माग्न आउने दिन तय भयो। मनले नाइँ भन्न सकेन। आमाबुबाको खुसीको लागि भए नि मैले खुसी देखिनु पर्ने थियो। मनलाई भारी बनाउँदै बाहिरबाट भने सुन्दर देखिने प्रयास गरे। मान्छे घरमा आए। दुवै परिवारबिच विवाहको प्रस्ताव स्वीकार भयो। थोरै खुसी धेरै दुःखी म भए।त्यसपछि घरमा किनमेल, आफन्तको आउजाउ र विवाहको चहलपहल सुरु भइहाल्यो। बिहेको कुरा थाहा पाएकाहरूले अग्रिम बधाई दिन थालिहाले।
बा आमाको अनुहारमा निकै खुसी देखिन्थ्यो। माहोल निकै खुसीको थियो। तर मेरो मनमा भने त्यही कक्षा ६ मा भेटिएको त्यही झिल्के केटोको प्रेम। थाहा छैन् उसले मलाई कसरी हेरेको थियो। तर मेरा लागि भने आजसम्म पनि उ पखाईको मान्छे बनेको थियो। यो कुरा मैले उसलाई कहिले पनि भन्न सकिन।

विवाह हुन दुई दिन बाँकी थियो। त्यही बेला उसको म्यासेज आयो।
प्रेमः के छ सन्चै छौं?
मौनिका : अं ठिक छ।
प्रेमः धेरै समय भयो भेटघाट बोलचाल नभएको।
मौनिका: अं त्यस्तै भयो। (निराश हुँदै)
प्रेमः पढाइ कहाँ पुर्यायौ?
प्रश्नहरू एकमाथि अर्को दोहोरिँदै गए तर मलै केही बोल्न सकिन। सकिन भन्दा पनि म लागेन। कारण जसका लागि म रोकिन खोजेकी थिए। त्यही मान्छे अब बिहेको दुई दिन अगाडी मात्रै कुरा गर्न खोजिरहेको छ। माया र पिडा त्यो बेलासम्म भयो मलाई। यो बेला उसले सोधेका प्रश्न सोधेका उसका प्रश्न मेरा लागि प्रश्न मात्रै थिएनन्। पुराना याद दिलाउने साधन पनि भएका थिए। त्यसैले उसको अन्तिम म्यासेज हेरेर छोडिदिएँ।
रातभरिमा पनि मलाई निद्रा लागेको थिएन। मनमा अनेक कुरा खेलिरहेको थियो। यति त म कहिले पनि रोएकी थिएन जति यो रात रोए। रुदाँरुदै उज्यालो भइसकेछ। बाहिर चराचुरुङ्गीको आवाज आउन थालिसेको थियो। मान्छेहरूको चहलपहल भइरहेको थियो। आँखा त खुल्यो तर मन खुलेन । जाडो महिनामा ओछ्यान जति प्यारो चिज के को होला र ? टाउको नउठाएर सिरानी मुनि राखेको मोबाइल झिके। फेसबुक खोले। म्यासेजमा रातो देखाएको थियो। क्लिक गरे। लामो म्यासेज सरसरती हरे। त्यही सामान्य म्यासेज।
प्रेमः किन बोल्दिनौ ?
मौनिका : यतिकै।
प्रेमः कि तिमीले मलाई चिनेनौ ?
कसरी भनूँ म उसलाई चिन्छ कि नाइँ भनेर। जसलाई भेट्नका लागि कति मनमा पिर लिएको थिए मैले। तर, के गर्नु भाग्यमा नभएको कुरा जे गरे पनि पाइँदैन भने जस्तै भयो मेरा लागि। यो पटक मैले बाध्य भएर म्यासेज टाइप गरे। ‘मेरो विवाह हुँदै छ। त्यसैले अलि व्यस्त छु। पछि कुरा गर्छु है। बाइ।’ यति लेखेर मोबाइल बन्द गरेँ।
उसको र मेरो भेट कक्षा ६ पढ्दा भएको हो। झिल्के कपाल, मुसुक्क हाँस्ने बानी, अल्लि लुरे लुरे, देख्नासाथ जिस्की हाल्ने। सबैलाई आफ्नो बनाइहाल्ने। यस्तै थियो उसको बानी। पढाइमा पनि राम्रै थियो। शिक्षकहरूको नजरको राम्रै केटाको छाप छोडको थियो उसले। मेरो बानीको कुरा गर्दा म पनि हँसिली रसिली स्मार्ट देखिन्थे

त्यो दिन पनि सधैँ जस्तै विद्यालयमा टिफिनको समय भयो। खाजा खान भनेर विद्यार्थीहरू बाहिर आए। म पनि खाजा खानको लागि बाहिर आए। हिउँद महिनाको चिसो सिरेटो चलिरहेको थियो। त्यो सिरेटोलाई घामले छेक्दै घाम तापिरहेकी थिएँ। त्यही बेला प्रेम र उसको साथी खै कुन्नि गोरु नारे जसरी अँगालो हाल्दै म भए ठाउँसम्म आइपुगे।
उनीहरू दुवैले एकैसाथ मलाई जिस्काउँदै सोधे ‘के छ हौ हालखबर? पढन्दास भएर बसेकी छौं त।’ घाम लागेकै दिशातिरबाट उनीहरू आएको भएकाले मैले घामलाई एउटा हातले छेक्दै पुलुक्क उनीहरूको अनुहारमा हेरे, अनि भने ‘एकदम ठिक छ । बरु तिमीहरूको भन के छ खबर? मैले सोध्ने बेलासम्म अल्लारे केटाहरू अल्लि पर पुगिसकेका थिए। परैबाट ठिकै छ भन्दै जिस्केरै बिदा भए। मन न हो त्यो प्रेम त एक छिन बसेर गफ गरेर गए नि हुन्थ्यो भन्ने जस्तो पनि भएको थियो। तर केटोलाई के बाल आफ्नै रफ्तारमा आयो गयो । यो दिन यस यसै सकियो ।
पृथ्वीले सूर्यलाई परिक्रमा गरेजस्तै केटोलाई हेर्दाहेर्दै यो वर्ष सकिएको थाहा नै भएन। परीक्षा दिने बेला भयो। परीक्षा दुवैले दियौ पनि दुवैले राम्रै अङ्कका साथ उत्तीर्ण पनि गर्यौ। समय बित्दै गयो। हामी पनि समयसँगै अघि बढिरह्यौँ। कक्षा ७ मा पनि त्यही रफ्तारमा किताबसँग दौडिन थाल्यौँ। पारिवारिक अवस्था दुवैको मध्यम नै थियो। सानो उमेर, चन्चलेपन। एक अर्काप्रति विशेष आत्मीयता महसुस गर्न थालिसकेको थाहा नै भएन। बच्चा उमेर न भयो, चकचक गर्दागर्दै, जिस्किँदा जिस्किँदै यो वर्षले पनि बिदा माग्न थालेको पत्तो भएन। वर्ष बिदा मात्रै माग्दै थिएन, हामीले यो वर्ष भरी पढेका कुराहरूको परीक्षा पनि माग्दै थियो। जति चकचके चन्चले भएन पनि कक्षा ७ सोचेअनुसार दुवै उत्तीर्ण गर्यौ।
नयाँ वर्षको नयाँ उमङ्गसँगै नयाँ कक्षा सुरु हुने तयारी हुँदै थियो। मनमा निकै खुसी छाएको थियो, नयाँ कक्षामा पनि अब हामीसँगै हुन्छौ भनेर। तर मेरो खुसी सपना मात्र भयो। बिपनामा त उसले भर्ना हुने समयमा विद्यालय परिवर्तन गरी सकेको रहेछ। कारण के थियो कुन्नि मलाई थाहा भएन। अनि हामीसँगै अध्ययन गर्न पाएनौं। लाग्यो मैले पर्खिएको उसलाई थाहा नै भएन। मैले उसलाई मन पराएको कुरा पनि उसलाई थाहा नै भएन । मैले उसलाई मन पराएको कुरा भनेको भए सायद रोकिने थियो कि? मनमा यस्तो कुरा खेल्न थालिसक्यो।
मन नहो त्यसपछि बेचैन भयो । कक्षाकोठा, विद्यालयको चौर र खेलमैदान सबै शून्य लाग्न थाले। यतिसम्म कि केही समय त विद्यालय जानसमेत मन लागेन। तर मनलाई जसोतसो सम्झाएँ र आफ्नो पढाइलाई निरन्तरता दिन थालेँ। समय बित्दै गयो। कक्षा आठ सुरु भयो। एकातिर उनीसँगै पढ्न नपाएको बेचैन मन अनि अर्कोतिर गुरुआमाले बारम्बार भन्ने गरेको कुरा। ‘कक्षा आठमा अझ बढी मेहनत गर्नुपर्छ’ यो दोधारको बिचमा पनि जसोतसो कक्षा आठ पनि राम्रो अङ्कका साथ उत्तीर्ण गरेँ।
निरन्तरको प्रयासले त्यसपछि कक्षा नौ सुरु भयो। नौ पनि राम्रो अङ्कमा उत्तीर्ण गरेँ। अब मेरो अगाडि कक्षा दस थियो। सायद विद्यालय जीवनकै सबैभन्दा चुनौतीपूर्ण वर्ष यही हो भन्ने लाग्थ्यो। त्यसैले कक्षा दश सुरु भए लगत्तै ट्युसन पढ्न थालेँ। गणित र अङ्ग्रेजीमा केही कमजोर भएकाले ती विषयमा अझ बढी समय दिन थालेँ।
समय बग्दै गयो, मेरा सपनाहरू पनि हुर्किँदै गए। अन्धकार चिर्दै उदाउने सुनौलो घाम झैँ मेरो जीवनमा पनि आशाका किरणहरू छर्न थाले। एसइईपछिको तीन महिने लामो बिदामा कम्प्युटर सीप सिकेँ र आफ्नै विद्यालयमा शिक्षा शास्त्र सङ्कायबाट कक्षा ११ मा भर्ना भएँ। कलेज जीवन केही फरक र चुनौतीपूर्ण रहे पनि, दुःख र मेहनतको अर्थ बुझेकी मैले हार मानिनँ। ११ र १२ दुवै कक्षा उत्कृष्ट अङ्कका साथ उत्तीर्ण गरेँ।
शैक्षिक यात्रालाई अगाडि बढाउँदै दमकस्थित मोडल बहुमुखी क्याम्पसमा बेएड प्रथम वर्ष ‘शिक्षा शास्त्र’ मा भर्ना भएँ र निरन्तरको मेहनतका साथ प्रथम श्रेणीमा स्नातक उत्तीर्ण गरेँ।
उमेरसँगै घरपरिवारमा अब मेरो विवाहको चर्चा सुरु हुन थाल्यो। अरूको नजरमा जीवन राम्रैसँग अघि बढिरहेको थियो । मनको एउटा कुनामा भने त्यो ८ कक्षामा छोडेर गएको मान्छे नै थियो। उससँग बिताएका विद्यालयका ती तिता मिठा दिनहरू मैले बिर्सन सकेकी थिइनँ। मनमा भने लागि रहेको हुन्थ्यो कास उ मान्छे फेरी भेटिए हुन्थ्यो नि।
एक साँझ म बार्दलीमा बसेर फेसबुक स्क्रोल गर्दै थिए। त्यसै बेला फेसबुकको नोटिफिकेशनमा टिङ्ग आवाज आयो। यस्ता आवाजहरू दिनकै आइरहन्थे। खासै वास्ता गर्दैन थिए। े त्यो दिन खोइ के भयो। अचानक नोटिफिकेसन बटम टच गरे। जहाँ फ्रेन्ड रिक्वेस्ट आएको थियो। थर उही तर नाम भने अलिक फरक। को होला भनेर मलाई छुट्याउन निकै बेर हम्मे हम्मे पर्यो । अचानक म उसको प्रोफाइल भित्र पसे प्रोफाइलमा उही मान्छे। जो कक्षा ८ मा मलाई छोडेर गएको थियो। करिब नौ वर्षपछि भएको यो पुनः सम्पर्क मेरा लागि निकै विशेष भयो।
समयले हामी दुवैलाई बदलिसकेको थियो। बाल्यकालका ती निर्दोष अनुहारहरू परिपक्वतामा बदलिएका थिए। जिम्मेवारीको भारी हाम्रो काँधमा उक्लिन थालिसकेको थियो। मेरा हातका औँलाहरूले खुसी साथ फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्न पुगिहाले। म्यासेज गर्ने आट भने आएन। यता घरमा विवाहका प्रस्ताव आउन भने निक्कै थालिसकेका थिए। मलाई भने जागिर नखाई बिहे गर्ने मन थिएन। अनि अब यसमा पनि आफूले उ बेला मन पराएको मान्छेले रिक्वेस्टले मन ल्याएको खुसी छदै थियो।
त्यो दिन खै कुन्नि के कामले हो, म चोक तिर निस्किएकी थिए। ठुला बाले बुबालाई फोन गर्नु भएछ। र, सासै नफेरी एकोहरो भन्नुभएछ, ‘छोरीको विवाह गर्ने होइन?,’ गर्ने हो भने निकै पढेलेखेका र राम्रो कुलघरमानका कुटुम्ब छन्। छोरीको उमेर पनि त निक्कै भइसक्यो। ढिला गर्नु राम्रो हुँदैन है भाइ।’ सायद समाजको परम्परा र छोरीको भविष्य सम्झेर होला। बुबाले पनि यो कुरालाई निकै सकारात्मक रूपमा लिनुभएछ।
साँझ छिपिँदै गएको थियो। दिनभरि आफ्ना छोराछोरीको लागि चारो खोज्न गएको चरी जस्तै साँझ म पनि घर आइपुगे। म घर पुग्दा झन्डै अबेर भैसकेको थियो । बा आमा मेरै बाटो हेरेर बसिरहनु भएको रहेछ। वैशाख महिनाको गर्मी। साँझ बेला चलेको चिसो हावालाई आफ्नो बुढो शरीरले छेक्दै बुबा पीढीमा बसिरहनुभएको थियो। आमा खै कुन्नि के गर्दै हुनुन्थ्यो मलाई याद भएन। जब म आँगनमा पुगे आमा जुरुक्क उठेर भान्सा कोठातर्फ लाग्नुभयो। बा हात खुट्टा धुन कलतिर जानुभयो। सायद छोरी आइपुगेपछि चिन्ताविहीन भएर उठ्नुभएको होला। म पनि लुगा फेर्न भनी सरासर आफ्नो कोठाभित्र पसे। लुगा फेरे। एक छिन थचक्कै खाटमा बसे। सायद दिनभरिको गर्मी र धुलो धुवाँले होला शरीर आलस्य भइरहेको थियो।
आमा भान्साबाट खाना खानको लागि बोलाइरहनुभएको थियो। जसोतसो अल्छी गरिगरी भान्सा छिरे। बा खाना खानको लागि छेउमा राडी बिछ्याएर बस्नु भएको थियो। आमाले खाना पस्किँदै हुनुहुन्थ्यो। म गए। छेउमा राखेको ठेलीमा बसे। बा,आमा र मैले सँगै खाना खायौँ। त्यसपछि बाहिर चलेको चिसो बतासमा बसेर एक छिन घरपरिवारको कुरा ग¥यौं। कुरा गर्दागर्दै आकाशमा लागेको जुनतिर आँखा लगाउँदै अल्लि सानो स्वरमा भन्नुभयो ‘छोरी अब तेरो विवाह गर्नुपर्छ, आज तेरो ठुलो बाले फोन गरेको थियो। राम्रो घरको कुटुम्ब छन् रे।’ अब तैलै पनि आफ्नो भविष्य बनाउनु पर्छ। हामीलाई पनि तेरो विवाह गर्न पाइयो भने यो बुढो शरीरले पनि आराम पाउँछ ।
बुबाको यो कुरा सुनेर मलाई के भनूँ भनूँ भइरहेको थियो। त्यसैमा आमाले पनि मेरो टाउको मुसार्दै थपी दिनु भयो। ‘हो छोरी, अब तैँले विवाह गर्नुपर्छ, हामी पनि बुढा भइसक्यौ। तेरो विवाह गर्न पायो भने बुढेसकालमा सान्तीसँग मर्न पाइन्थ्यो।’ बा र आमालाई के थाहा मेरो मनमा उही झिल्के केटो बसेको छ भनेर। जो छुटेको नौ वर्ष पछि फेरी भेटिएको छ। बा र आमा कुराले त मेरो मनमा बरु एक छिन चिसो पसाइदिनु भयो त्यो बिहेको कुराले।
न त मेरा बा आमाले कोही छ कि भनेर मलाई सोधे न त मैले मेरो मनमा कोही छ भनेर भन्न सके। मस्तिष्कले बुबाको निर्णय स्वीकार गर्न खोजे पनि मनले भने त्यसलाई स्वीकार गरिरहेको थिएन। एक छिन सोचे धेरै कुरा। आफ्नो केही निर्णय आफैले लिन सकेन। बा र आमाको खुसी र इज्जतका लागि आफ्नो भावनालाई तिलाञ्जली दिँदै उनीहरूको निर्णयमा मैले ल्याप्चे लगाइदिए।



