कञ्चनपुरमा १३ वर्षीया बालिका १५ दिनदेखि बेपत्ता,परिवारको गम्भीर आरोप

sc mahendra

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट १३ वर्षीया बालिका १५ दिनदेखि बेपत्ता भएपछि स्थानीय क्षेत्रमा त्रास र चिन्ता बढेको छ।
कृष्णपुर नगरपालिका–३ बस्ने इन्द्रबहादुर नेपाली र सुनिता नेपालीकी १३ वर्षीया छोरी प्रियंका नेपाली (आशा) फागुन १० गते दिउँसो करिब १२ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी हुन्।
परिवारका अनुसार प्रियंका घरबाट “साथी भेट्न जान्छु” भनेर निस्किएकी थिइन्। तर त्यसपछि उनी घर नफर्किएको र हालसम्म उनको कुनै अत्तोपत्तो नलागेको बताइएको छ।
प्रियंकाका बुवाले कृष्णपुर-५ बस्ने अटो चालक निशा सार्कीले भुलाएर आफ्नी छोरीलाई बेपत्ता बनाएको आशंका व्यक्त गरेका छन्। घटनापछि परिवारले नजिकैको प्रहरी कार्यालय झलारीमा निवेदन दर्ता गरिसकेको जनाएको छ।
प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार निवेदन दर्ता भइसकेको छ। उनले निर्वाचनका कारण खोजीकार्यमा केही ढिलाइ भएको स्वीकार गर्दै अब सक्रिय रूपमा खोजी सुरु गरिएको बताएका छन्।
प्रियंका नजिकैको नन्दा माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्। घटना हुँदा उनका आमा–बुवा रोजगारीको सिलसिलामा भारतको बैङ्गलोरमा रहेका थिए। खबर पाउनेबित्तिकै उनीहरू फागुन १४ गते नेपाल फर्किएका हुन्।
१३ वर्षीया बालिका दिउँसै घरबाट हराएपछि परिवार गहिरो चिन्तामा परेको छ। स्थानीयमा पनि कहिँ निर्मला पन्तजस्तै घटना दोहोरिने त होइन? भन्ने त्रास फैलिएको छ।
परिवारले प्रहरीमाथि खोजीकार्यमा ढिलासुस्ती भएको आरोप लगाएका छन् भने छोरी सकुशल फेला पारिदिन आग्रह गरेका छन्।
प्रियंका नेपाली ९आशा० को बारेमा कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई तुरुन्त खबर गर्न अनुरोध गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.