डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आलिताल गाउँपालिका समितिको सभापतिमा दिल बिष्ट सर्वसम्मत रूपमा चयन भएका छन्।
मंगलबार बसेको पार्टीको गाउँपालिका स्तरीय बैठकले बिष्टलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको तत्कालीन सभापति नरेश बोगटीले जानकारी दिए।
पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर स्थानीय तहस्तरमा संगठन सुदृढीकरण तथा पुनर्गठन अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत आलिताल गाउँपालिका समितिको नेतृत्व चयन गरिएको जनाइएको छ।
यसअघि केही दिनअघि मात्र रास्वपा आलितालले गाउँपालिकाका सबै वडामा वडा समिति गठन गरी संगठन विस्तारको काम सम्पन्न गरेको थियो। नयाँ नेतृत्व चयनसँगै पार्टीको संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।
नवनिर्वाचित सभापति बिष्टले पार्टीप्रति आम नागरिकको विश्वासलाई अझ मजबुत बनाउन र गाउँपालिकाभित्र संगठनलाई थप सक्रिय तथा सशक्त बनाउँदै लैजान आफू प्रतिबद्ध रहने बताएका छन्।
