डडेल्धुरामा गठबन्धनको ‘निर्वाचन परिचालन मूल समिति’ गठन, संयोजकमा साउद सहसंयोजकमा पार्की

sc mahendra

डडेल्धुरा: डडेल्धुरामा रहेका सत्ता गठबन्धन दलहरूले ‘निर्वाचन परिचालन मूल समिति’ गठन गरेका छन्। मंगलबार जिल्ला सदरमुकाममा बसेको वाम लोकतान्त्रिक गठबन्धनका साझेदार दलहरूको बैठकले ९ सदस्यीय जिल्ला निर्वाचन परिचालन मूल समिति गठन गरेको हो।

समितिको संयोजकमा कांग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउँद र सह–संयोजकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज जगतबहादुर पार्की रहेका नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए।

यस्तै, प्रदेशसभा १ को निर्वाचन क्षेत्र परिचालन समितिको संयोजकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक ‘पुकार’ चयन भएका छन्। उनको संयोजकत्वमा १२ सदस्यीय गठन गरिएको छ। जसको सह–संयोजकमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कैलाशकुमार पाण्डेय रहेका छन्।

यसैगरी प्रदेशसभा २ मा पनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तारक बुढाऐर संयोजकमा १२ सदस्यीय समिति गठन गरिएको छ। जसको सह–संयोजकमा माओवादी केन्द्रका प्रदेश सदस्य गणेश सार्की रहेका छन्।

नेकपा एकीकृत समाजवादी डडेल्धुरा भने सत्ता गठबन्धन बैठकमा सहभागी भएको थिएन। डडेल्धुरा प्रदेशसभा २ दाबी गरेको उसले आफ्नो पार्टीले टिकट नपाएपछि गठबन्धनबाट बाहिरिएको छ। एकीकृत समाजवादीसँग पनि वार्ता चलिरहेको सचिव चटौलले बताए।

गठबन्धनबाट प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव लड्दैछन्। प्रदेशसभा १ मा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र प्रदेशसभा २ मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा उम्मेदवार छन्।

You might also like
Leave A Reply

Your email address will not be published.