
डडेल्धुरा । व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक होउन् भन्ने उद्देश्यले सरकारले बैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाइ रहेको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजो देखि सात गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन हुने जनाएको छ ।




विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै वैशाख पहिलो साता व्यक्तिगत घटना दर्ताका लागि जनचेतनामूलक कार्यक्रम गर्न अनुरोध गरेको छ । सबै स्थानिय तहले घटना दर्ता सप्ताह सञ्चालन गर्दा आलिताल गाउंपालिकाले पनि व्यापाक रुपमा प्रचार प्रसार गरिरहेको छ । पालिकाले जन्म,मृत्यु,बसाईसराई र सम्बन्ध बिच्छेद जस्ता घटना समयमै दर्ता गराउन आग्रह गरेको छ । आलिताल गाउंपालिका पञ्जीकरण शाखाका प्रमुख शेर बहादुर देउबाले सरकारको यो व्यक्तिगत घटना दर्ता सप्ताहलाई आलितालले पनि अभियानकै रुपमा चलाईरहेको बताए ।
राज्यलाई नीति निर्माण गर्न र राज्यले दिने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता आवश्यक छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ । घटना भएको ३५ दिनभित्र दर्ता गराउँदा पैसा लाग्दैन ।
