नेपाल उत्पीडित जातीय मुक्ति समाज डडेल्धुराको छैटौँ जिल्ला अधिवेशन सुरु

sc mahendra

डडेल्धुरा, फागुन २३  नेपाल उत्पीडित जातीय मुक्ति समाज डडेल्धुराको छैटौँ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। नेकपा (एमाले) डडेल्धुराको पार्टी कार्यालयमा आयोजित उक्त अधिवेशनको उद्घाटन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर बिक पौडेलले गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले उत्पीडित जातिहरूको हकअधिकार स्थापित गर्न संगठित रूपमा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले नेकपा (एमाले) ले समाजवाद हुँदै साम्यवादको लक्ष्य लिएको उल्लेख गर्दै, उत्पीडित जातीय मुक्तिको एजेण्डासँग मेल खाने भएकाले एमालेभित्र संगठित भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा डडेल्धुरा पार्टी इन्चार्ज पठानसिंह बोहराले संगठनलाई व्यवस्थित र सशक्त बनाएर आफ्ना अधिकार स्थापित गर्न एकताबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले उत्पीडित जातीय मुक्ति समाजलाई आधारभूत तहसम्म विस्तार गरी समुदायलाई पार्टीसँग जोड्न सके, पार्टी अझ बलियो हुने धारणा राख्नुभयो।

त्यस्तै, मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष तथा एमाले केन्द्रीय सदस्य अफिलाल ओखेडाले दलित समुदायभित्रै पनि विभेद देखिएको उल्लेख गर्दै, यसलाई निराकरण गर्नु अहिलेको चुनौती रहेको बताउनुभयो। जातीय विभाजनकै कारण दलित समुदायमा थप भेदभाव उत्पन्न भएको भन्दै, यसलाई अन्त्य गर्न नेताहरू सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य तथा पूर्व राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले उत्पीडित समुदायलाई संगठित गरेर मात्र मुक्तिको सम्भावना रहेको बताउनुभयो। उहाँले पार्टीभित्र समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सके मात्र उत्पीडित वर्गको उत्थान हुनेमा विश्वास व्यक्त गर्नुभयो।

“देशभर मुक्ति समाज शक्तिशाली जनवर्गीय संगठन हो, तर हामीले यसलाई पर्याप्त रूपमा संगठित गर्न सकेका छैनौँ,” नेता स्नेहीले भन्नुभयो। उहाँले डडेल्धुराका धेरै दलित समुदायले अझै आफ्नो नाममा जग्गा पाउन नसकेको, हलिया जीवन बिताइरहेका समस्या उल्लेख गर्दै, उनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो।

उद्घाटन कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य करन ताम्राकार, नेकपा (एमाले) डडेल्धुरा अध्यक्ष गजेन्द्र शाही, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य तथा डडेल्धुरा इन्चार्ज सुन्दर जैरुले शुभकामना मन्तव्य राख्नुभयो।

मुक्ति समाजका जिल्ला अध्यक्ष घनश्याम टमटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेता भोज ताम्राकारले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने कार्यक्रमको सञ्चालन करन कैनीले गर्नुभएको थियो। बन्द सत्रबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.