
डडेल्धुरा – डडेल्धुरामा कृषि तथा पशुपालनसँग सम्बन्धित तीन सरकारी निकायको संयुक्त गोष्ठी सम्पन्न भएको छ। ‘पकेट विकास कार्यक्रमको समीक्षा तथा प्रगति गोष्ठी’ नामक उक्त कार्यक्रम हिजो(आइतबार) सम्पन्न भएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र डडेल्धुरा तथा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा भएको गोष्ठीमा सहभागीहरूले कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न स्रोत साधनको अधिकतम उपयोग, लगानी तथा समन्वय आवश्यक रहेको बताएका छन्।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले कृषि तथा पशुपालनमा बजेट वृद्धि गर्न स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता जनाए। पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले पालिकाहरूले कृषि बजेटलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।


पशु सेवा विज्ञ केन्द्रका प्रमुख देवराज भट्टले डडेल्धुरामा मासु र दूध उत्पादनमा उल्लेखनीय प्रगति भए पनि पूर्ण आत्मनिर्भरतामा अझै काम गर्न बाँकी रहेको बताए। उद्योग वाणिज्य संघ डडेल्धुराका वरिष्ठ उपाध्यक्ष दिपक महतले दूध उत्पादनमा अझ प्रभावकारी योजना आवश्यक रहेको औंल्याए।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले सुन्तलाजात फलफूलको बजारीकरण, मौरीपालन, बगैंचा स्थापना, किसानलाई बीउ तथा सामग्री वितरणजस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए। पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य उत्तर विष्टले जिल्लाबाट हुने तरकारी, फलफूल र मासुजन्य वस्तुहरूको आयात/निर्यात तथ्यांक व्यवस्थित गर्नुपर्नेमा जोड दिए।
गोष्ठीमा तीनवटै निकायले आलु सुपरजोन, भटमास जोन, सुन्तलाजात खेती, मौरीपालन, कृत्रिम गर्भाधान, घाँस वितरणलगायत कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। आलु सुपरजोनका प्रमुख पिताम्बर बस्नेतका अनुसार डडेल्धुरामा हाल १,१२२ हेक्टरमा आलु र ६५० हेक्टरमा भटमास खेती भइरहेको छ।
कार्यक्रममा अमरगढी नगरपालिका बाहेक डडेल्धुराका अन्य ६ पालिकाका कृषि तथा पशु शाखा प्रतिनिधिहरूले आ-आफ्नो कामको अनुभव र धारणा साझा गरेका थिए।



