धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्व–पश्चिम राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा डडेल्धुराका एक युवकको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ८४५४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–४ भलकुडा निवासी ३१ वर्षीय दर्शनसिंह भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनापछि गम्भीर घाइते भएका भाटलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
बस र बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३४ वर्षीय अम्मर सिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ।
