डडेल्धुरा:डडेल्धुराको आलितालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
आलिताल गाउँपालिका वडा नं. १, माला गाउँकी ३० वर्षीया सुत्केरी महिला सीता देवी आउजीको आज बिहान करिब ७ बजे मृत्यु भएको छ। मृतक सीता लक्ष्मण आउजीकी श्रीमती हुन्।
वडा अध्यक्ष यज्ञबहादुर देउवाका अनुसार सीताले गएराति करिब ३ बजे घरमै शिशुलाई जन्म दिएकी थिइन्। सुत्केरीपछि अत्यधिक रक्तस्राव भएका कारण उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
परिवार स्रोतका अनुसार सीता हिजो बिहान करिब ९ बजे डोटी जिल्लाको जोरायल गाउँपालिका क्षेत्रभित्र पर्ने पोखरीडाँडा स्वास्थ्य इकाइ केन्द्रमा सामान्य स्वास्थ्य जाँच गराएर घर फर्केकी थिइन्। उनलाइ स्वास्थ्य कर्मीले नजिकै आफन्तको घरमा बसेर सम्पर्कमा रहन सुझाएकी थिइन । तर उनी भने घर फर्किइन , राति अचानक सुत्केरी व्यथा सुरु भए पनि स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्दा समस्या गम्भीर बनेको परिवारको भनाइ छ। स्वास्थ्य इकाइ पुग्न उकालो बाटो करिब आधा घण्टा हिँड्नुपर्ने भएकाले बिहान एम्बुलेन्स बोलाउने निर्णय गरिएको थियो। तर निरन्तर उच्च रक्तस्राव भइरहेकै अवस्थामा एम्बुलेन्स आउन नपाउँदै सीताले बिहान करिब ७ बजे ज्यान गुमाइन्।
वडा अध्यक्ष देउवाले नागरिकलाई स्वास्थ्यसम्बन्धी जनचेतना दिँदै आएको भए पनि व्यवहारिक कार्यान्वयनमा कमजोरी देखिएको स्वीकार गरे। उनले बिहान मात्र घटनाको जानकारी पाएको र खबर पाउनासाथ एम्बुलेन्स लिएर जाँदा महिलाको मृत्यु भइसकेको बताए। तेस्रो जन्म दिएकी नवजात शिशु भने विजितै छिन ।
आलिताल–१ स्वास्थ्य चौकी हर्तोलाकी अनमी कुशुम पन्तका अनुसार सीताले गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गराउँदै आएकी थिइन् र उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको थियो। तर सुत्केरी हुने क्रममा स्वास्थ्य संस्थासँग सम्पर्कमा नआएको उनले बताइन्। “हामीलाई पनि घटनाबारे ढिलो जानकारी प्राप्त भयो,” उनले भनिन्।
मृतक महिला बसोबास गर्ने क्षेत्र बाढी–पहिरोको उच्च जोखिममा पर्ने क्षेत्र हो। स्थानीयका अनुसार वर्षायाममा उनीहरू सरकारले उपलब्ध गराएको अस्थायी टेन्टमा बस्न बाध्य छन्।
घटनाको विषयमा थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगेको जनाएको छ। यो घटनाले ग्रामीण क्षेत्रमा अझै पनि सुरक्षित सुत्केरी सेवा र स्वास्थ्य संस्थामा समयमै पहुँच नहुनु गम्भीर चुनौतीका रूपमा रहेको स्पष्ट पारेको छ।
You might also like
