
बैतडी : बैतडीको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टविरुद्ध वडा सदस्य जनकराज भट्टले आमरण अनसन सुरु गरेका छन्। निर्माणाधीन सडकको काममा अवरोध गरिएको आरोप लगाउँदै सोमबारदेखि उनी मेलौली नगरपालिकाको मूलढोकानजिक अनसनमा बसेका हुन्। अनसनमा पूर्व वडा सदस्य भीमदेब भट्ट पनि सहभागी छन्।
अनसनरत पक्षका अनुसार सडक डिभिजन कार्यालय पाटनले निर्माण गरिरहेको तिनजोर्ना–हरडाखान हुँदै वडा नम्बर ९ को कार्यालय तथा विशालपुर स्वास्थ्य चौकी जोड्ने सडकको काममा अवरोध भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो।


वडा सदस्य जनकराज भट्टले नगरपालिकालाई सडकसम्बन्धी समस्या लिखित रूपमा जानकारी गराइसकेको भन्दै सडक निर्माणमा भइरहेको अवरोध नहट्दासम्म अनसन नतोड्ने बताए। उनले आफूहरू पानीसमेत नखाई अनसनमा बसेको उल्लेख गर्दै समस्या समाधानका लागि नगरपालिका र स्थानीय प्रशासनले तत्काल पहल गर्नुपर्ने माग गरे। साथै, तीन दिनभित्र सडक निर्माण कार्य सुचारु गराउन पहल नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन्।
यता वडाध्यक्ष लोकराज भट्टले भने सडक निर्माणको विरोध आफूले नभई स्थानीयवासी र सामुदायिक वन उपभोक्ता समितिले गरेको दाबी गरेका छन्। सडक चौडा पार्दा पहिरोको जोखिम बढ्ने र बस्ती नै जोखिममा पर्न सक्ने भएकाले वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) बिना निर्माण कार्य अघि बढाउन नदिने निर्णय गरिएको उनले बताए।
उनका अनुसार वडा कार्यालयसम्म करिब ७ किलोमिटर सडक स्तरोन्नति हुनुपर्ने भए पनि सडक डिभिजन कार्यालयले ३ किलोमिटर क्षेत्रमा मात्रै काम गर्न खोजेपछि विवाद उत्पन्न भएको हो। सबै सरोकारवाला पक्षबीच समन्वय गरी ७ किलोमिटर सडक स्तरोन्नतिको काम सम्पन्न गरिए विवाद समाधान हुने उनको भनाइ छ।
करिब ३ करोड रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको उक्त सडकको आधाभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ।



