चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले महँगियो

sc mahendra

 

२९ जेठ, काठमाडौं । व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको संघकी तथ्यांक अधिकृत ज्योती थापाले बताइन् ।

संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।

बजारमा भारतबाट प्रतिबन्ध अघि आयात भएका र नेपाली उत्पादकले उत्पादन गरेको चिनी पाइन्छ । तर, भारतले निर्यात रोक लगाएपछि नेपाली उद्योगीले चिनी बिक्री रोकेको एक होलसेल व्यापारीले बताए । ‘नेपाली र भारतीय बजारको चिनी दुवै पाइँदा बजारमा चिनीको होलसेल मूल्य ९० रुपैयाँ थियो,’ ती व्यापारीले भने, ‘अहिले होलसेल मूल्य नै ९५ देखि एक सय रुपैयाँसम्म पुगेको छ, तर पनि चिनी पाइएको छैन् ।’ होलसेलमा ९५ रुपैयाँ माथि पुगेपछि खुद्रा मूल्य बढ्नु स्वभाविक भएको ती व्यापारीले बताए ।

यता नेपाल चिनी उद्योग संघले भने बजारमा उद्योगबाट चिनी ८१ रुपैयाँ किलोमा बिक्री भइरहेको दाबी गरेको छ । संघका उपाध्यक्ष राजकुमार अग्रवालले चिनी सित्तैमा बाँड्ने वस्तु नभएको बताए । ‘उद्योगबाट बजारसम्म पुग्दा मूल्य त महँगीअनुसार बढ्छ त,’ अग्रवालले थपे, ‘भारतीय चिनी चोर बाटोबाट प्रशस्त मात्रामा भित्रिएका कारण बजारमा अभाव नहोला ।’ संघ अन्तर्गतका उद्योगबाट उत्पादीत ४० टन चिनी अहिले आफूहरुसँग मौज्दात रहेको पनि उनले बताए ।

खुद्रा बजार मूल्यमा हस्तक्षेप गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने भर्खरै चिनी खरिदको प्रक्रिया थालेको जनाएको छ । एक सय टन चिनी खरिदका लागि केही दिनमै प्रक्रिया थाल्ने गरी काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले जानकारी दिए ।

‘गत वष सरकारले हामीलाई सहयोग गरेन, भन्सार छुटमा चिनी ल्याउन नदिंदा यस पटक बजारमा हाम्रो उपस्थिति भएन,’ चन्दले थपे, ‘एक दुई दिनमै चिनी खरिदको टेन्डर गर्छौं ।’ वाणिज्य मन्त्रालयबाट कम्पनीले आयात गर्ने चिनीमा भन्सार छुटका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताए । चिनीको खरिद प्रक्रिया सकेर चिनी नेपाल भित्रिन कम्तीमा ४५ दिन लाग्ने पनि कम्पनीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.