अर्जुन ट्रफी क्रिकेटमा अत्तरिया र धनगढीको जित

sc mahendra

धनगढीः कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरिया र डिसिए धनगढी विजयी भएका छन्।

गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले हराउँदै सिवाईसी अत्तरियाले विजयी सुरुवात गरेको हो। धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै सिवाईसीले निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा एक सय ६४ रन बनायो।

अत्तरियाका लागि कप्तान भीम सार्कीले अर्धशतक बनाए। ३३ बलको सामना गर्दै उनले ७० रन बनाए। सो पारीमा उनले ४ छक्का र ६ चौका प्रहार गरे। अत्तरियाका लागि तृपराज दासले ३० रन बनाए। शंकर रानाले २५ रन बनाउँदा विवेक यादवले १७ बलमा अविजित २५ रन जोडे। बैतडीका लागि अमरसिंह रौटेलाले २ विकेट र रुपेश सिंहले एक विकेट लिए।
जितका लागि पाएको एक सय ६५ रनको रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो। बैतडीका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन हिर्काए। बसन्त खत्रीले २३ रन, सुमित बडालले १८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेनन्।

सिवाईसी अत्तरियाका लागि विवेक यादवले ४ विकेट लिए। साहव आलम र कमल गुप्ताले २र२ विकेट लिए। दिपेश कँडेलले एक विकेट लिए। खेलमा २५ रन बनाएर ४ विकेट लिएका अत्तरियाका विवेक यादव नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजारसहित ट्रफी पाए।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा डिसिए धनगढीले पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा डडेल्धुरासँग पराजित भएको डिसिए धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो। टस जितेर पहिलो ब्याटिङ गर्दै डिसिए धनगढीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा एक सय ४९ रन बनायो।

डिसिएका लागि राजु रिजालले २७ बलमा ३७ रन बनाए। यस्तै लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले ९ बलमा १९ रन बनाए। घोडाघोडीका लागि धर्मराज जोशीले ३ विकेट लिए। नरेन साउँदले दुई विकेट लिए।

एक सय ५० रनको लक्ष्य लिएर मैदान उत्र्रिएको घोडाघोडी १६।५ ओभरमा सवै विकेट गुमाउँदै ८० रनमा समेटियो। घोडाघोडीका लागि टेक रावतले १८ रन र दिपक टमाट्टाले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन अंक छुन सकेनन्।

डिसिएलाई शानदार जित दिलाउन ललित राजवंशीले ३ विकेट लिए। मिलन बोहोरा र राहुल भण्डारीले दुईरदुई विकेट लिए। खेलमा ३ विकेट लिएका डिसिए धनगढीका राजवंशी नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजारसहित ट्रफी पाए।

प्रतियोगिताअन्तर्गत आइतबार भोलि दुईवटा खेल हुनेछन्। पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं प्रतिस्पर्धा गर्नेछन्। नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमको सहभागिता छ। दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना भइरहेको प्रतियोगिताको समूह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा छन्। यस्तै समूह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराइजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.