डडेल्धुरामा एमालेका स्नेही सहित ५ जनाले लिए उम्मेदवारी फिर्ता

sc mahendra

डडेल्धुरा:  डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता गरेका हुन्।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका छन्। यस्तै प्रदेशसभा १ मा काँग्रेस बीपीका गणेश जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा ३ जनाले उम्मेदवारी फिर्ता लिएसंगै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। प्रदेशसभा सदस्यतर्फ १२ जना उम्मेदवार छन्।

देउवासंगै प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी बिक्रम शाही, राप्रपाबाट गोविन्द खडायत, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार छन्। यस्तै २ वटा प्रदेशसभा रहेको डडेल्धुरामा अब १२ जना उम्मेदवार भएका छन्। सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेश १ मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र २ मा नेपाली काँग्रेसका गोविन्दराज बोहराको उम्मेदवारी छ।

नेकपा एमालेबाट प्रदेश १ मा पठानसिंह बोहरा र २ मा गजेन्द्र शाही, प्रदेश २ मै स्वतन्त्र डा। तारा जोशीको उम्मेदवारी छ। प्रदेश २ बाट राप्रपाबाट पदाराज जोशी, स्वतन्त्र महेश धामी र धनबहादुर बोहराको उम्मेदवारी छ। प्रदेश २ मा राप्रपाबाट खेमराज पनेरु, जसपाबाट नरभान पार्की, स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्तको उम्मेदवारी छ।

You might also like
Leave A Reply

Your email address will not be published.