माघ २३
रास्वपाले सरकार छाडेसँगै १० पुसमा बनेको सत्ता गठबन्धनमा फुट आएको छ । भलै रास्वपाले समर्थन कायमै राखेका कारण प्रधानमन्त्री प्रचण्डले संसदमा फेरि विश्वासको मत लिनु पर्दैन । तर पहिलो चुनावमै १९ सिट (रवि पदमुक्त भएपछि)भएको संसदको चौथो दलले सरकारमा सहभागी भएको डेढ महिनामै सरकार छाड्नु उनका लागि सकारात्मक होइन ।
प्रचण्डले भने फेरि रास्वपासँग सम्वाद गर्ने बताएका छन् । ‘सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने नै हो मेरो’ आइतबार संघीय संसद भवनमा पत्रकारहरुसँग प्रचण्डले भने, ‘अदालतको निर्णयपछि पक्कै पनि उहाँहरु (रास्वपा)लाई अलि असहज त भएकै थियो । अब उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’
माओवादी नेताहरु भने हतार नगर्ने बताउँछन् । उनीहरुका अनुसार अहिले रास्वपाले छाडेका मन्त्रालयहरुमा जनता समाजवादी र एकीकृत समाजवादीलाई ल्याउने विकल्प खुला छ । तर राजनीतिक परिस्थितिलाई हेरेर राष्ट्रपति निर्वाचनसम्म पर्खिने सम्भावना रहेको माओवादीका एक पदाधिकारीले बताए ।