माघ ११ , स्वतन्त्रबाट विजयी भएका तीन चर्चित नगरप्रमुखहरुले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् ।
बहिष्कार गर्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन), धरान उपमहागरपालिकाका मेयर हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल रहेका छन् ।
मेयर बालेन र साम्पाङले कार्यव्यस्तताका कारण मतदान गर्न नगएको बताएका छन् भने, हमालले उक्त विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको छ । ७ प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । राष्ट्रिय सभामा १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
मतपरिणाम आजै (बिहीबार) साँझ ७ बजेसम्म सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।