धनगढी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कञ्चनपुर आउने भएका छन्। माओवादी केन्द्रले आयोजना गर्ने भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड कञ्चनपुर आउने भएका हुन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै कञ्चनपुरको पुनर्वास नगरपालिकाको टाउन बजारमा पुस १३ गते सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध व्यापक जनदबाब दिनेगरी खबरदारी सभा गर्न लागेको माओवादीले जनाएको छ। सभालाई पूर्वप्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले बताए।
उनले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आबद्ध व्यक्तिहरुलाई छानाछानी षड्यन्त्रपूर्वक विभिन्न खालका मुद्दा चलाइरहेको बताए। माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गर्ने सभालाईलाई माओवादीले शक्ति प्रदर्शनका रुपमा लिएको छ।
उक्त सभामा २० हजारभन्दा बढी मानिस उर्ताने माओवादीको दाबी छ। उक्त कार्यक्रममा ठूलो संख्यामा पार्टी प्रवेश तथा समायोजनको कार्यक्रम पनि राखिएको प्रदेशसभा सदस्य समेत रहेका प्रचार तथा प्रकाशन विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ले जानकारी दिए।