विवादित अडियो प्रकरणपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

sc mahendra

धनगढी : विवादमा परेपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका हुन्।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चौधरीले उक्त अडियो भदौ महिनाको भएको स्पष्ट पार्दै भने, “केही काठ व्यवसायी र पार्टीका व्यक्तिसँग छलफल भएको थियो। मन्त्री बनेको प्रारम्भिक चरणमा सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा भेटघाट गरिएको हो। तर, मेरो नियत गलत थिएन।”

सार्वजनिक अडियोमा मन्त्री चौधरीले दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गर्ने कुरा गरेका थिए। साथै, उनले २५ देखि ३० को आवश्यकताबारे उल्लेख गर्दै केही मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएका सुनिन्छ। तर, उनले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको दाबी गरेका छन्।

पत्रकार सम्मेलनपछि मन्त्री चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका छन्।

दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रीपरिषद्बाट पारित गराउँदै आर्थिक चलखेलको योजना बनाएको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताको आधारमा पद त्यागेको बताएका छन्।

“सत्यतथ्य छानबिनका लागि बाटो खुला गर्न राजीनामा दिएको हुँ,” चौधरीले प्रष्ट पारे।

उक्त अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले पनि चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.