
डडेल्धुरा — डडेल्धुरा सदरमुकाममा व्यवसाय गर्दै आएका न्यू महादेव कस्मेटिक एण्ड सप्लायर्स का सञ्चालक स्वर्गीय हरि सिंह पालीको हत्या प्रकरणमा दोषीमाथि कारबाही नहुँदा डडेल्धुरा उद्योग वाणिज्य संघ आन्दोलित बनेको छ।
भागेश्वर गाउँपालिका–५ स्थायी ठेगाना भई हाल अमरगढी नगरपालिका–५ मा बसोबास गर्दै आएका व्यापारी पालीलाई बैंकिङ्ग कसुर अन्तर्गत कानुनी प्रक्रिया चलिरहेको अवस्थामा नियोजित ढंगले डडेल्धुराबाट कैलाली लगेर कारागार भित्रै कुटपिट गरी हत्या गरिएको संघको आरोप छ।

यस घटनाको विरोधमा उद्योग वाणिज्य संघ डडेल्धुराले २०८२ असार ४ गते जिल्लाभरि बजार र यातायात बन्द गरेको थियो। तर पिडित परिवारले पटक–पटक जाहेरी दिन खोज्दा कैलाली प्रहरी द्वारा किटानी जाहेरी दर्ता नगरिएकाले संघले थप कडा आन्दोलनको घोषणा गरेको हो।

संघले आज (२०८२ असार ५) बसेको बैठकबाट यदि भोलि (असार ६) सम्म जाहेरी दर्ता नगरिए, त्यसपछिका दिनहरूमा सम्पूर्ण उद्योग–व्यवसाय, यातायात, शैक्षिक संस्था, सरकारी तथा गैर–सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था समेत बन्द गर्दै आमहड्तालमा उत्रिने निर्णय गरेको छ।
संघले आन्दोलनका क्रममा पर्न सक्ने सामाजिक तथा आर्थिक क्षतिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने चेतावनी समेत दिएको छ।
आन्दोलनमा निम्न संघ–संस्थाहरूको एक्यबद्धता रहेको छः
१. निर्माण व्यवसायी संघ डडेल्धुरा
२. उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा
३. नागरिक समाज डडेल्धुरा
४. होटल व्यवसायी संघ डडेल्धुरा
५. सुनचाँदी व्यवसायी संघ डडेल्धुरा
६. हार्डवेयर व्यवसायी संघ डडेल्धुरा
७. औषधि व्यवसायी संघ डडेल्धुरा
संघले सबै पक्षलाई सत्य र न्यायका पक्षमा उभिन र सहयोग गर्न आग्रह समेत गरेको छ
।डडेल्धुराका युवक जेलमै मृत्यु,हत्याको आशंका



