
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई पदबाट हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री कार्यालयले पनि चौधरी बर्खास्त गरिएको पुष्टि गरेको छ । अब उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कमलबहादुर शाहले आफैँ सम्हाल्ने भएका छन् ।


केही दिनअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट गत जेठ ४ गते मन्त्री बनेका चौधरीले अटेरी गर्दै आएका थिए ।
कृषि मन्त्री हुँदा चौधरी किसानलाई अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै रकम असुल्ने समूहसँग जोडिएको भन्दै विवादमा तानिएका थिए । सोही प्रकरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की सुशीला खड्कालगायत केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यसअघि नाउपाका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी पनि दिगो वन व्यवस्थापन कार्यविधि बनाउने क्रममा आर्थिक लेनदेनको आरोपमा मुछिएर राजीनामा दिएका थिए । त्यसपछि रामेश्वर चौधरीले उक्त जिम्मेवारी सम्हालेका थिए ।



