डडेल्धुरा : बाजुरा बुढीगंगा नगरपालिका–८ मोटावाडाका ३२ वर्षीय पारस कुँवर हराएको २२ दिनपछि मृत अवस्थामा फेला परेका छन्।
कुँवरको शव बुढीगंगा नगरपालिका–९ स्थित चुल्ठे लेकमा भेटिएको आफन्तहरूले बताएका छन्। हराएदेखि नै खोजी कार्य जारी रहे पनि परिवारले उनीसँग सम्पर्क स्थापित गर्न सकेका थिएनन्।
पारस कुँवर मानसिक रूपमा समस्या भएका व्यक्ति भएको र यसअघि पनि दुईपटक हराएका तर परिवारले फेला पारेका आफन्तले बताएका छन्। यसपटक भने लगातार २२ दिनसम्म खोजी गर्दा पनि कुनै सुराग नलागेपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए।
शवको अवस्था हेर्दा हराएको केही दिनमै मृत्यु भएको अनुमान गरिएको छ। मासु कुहिएर हड्डी मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको प्रहरी स्रोतले जनाएको छ। चिसो, भोक वा अन्य समस्याका कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ।
हाल प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि बाजुरा जिल्ला अस्पताल लैजाने तयारी गरेको जनाएको छ।
मृतक पारस कुँवरका बुवा कर्ण कुँवर र आमा माता कुँवरका दुई छोरा र एक छोरी छन्। दुवै छोरा मानसिक रूपमा कमजोर रहेको आफन्त एलिजा कुँवरले जानकारी दिएकी छन्।
