काठमाडौं – सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल खोल्ने प्रस्तावप्रति असहमति जनाउँदै विदेशी कम्पनीले नेपाललाई हेपेको आरोप लगाए। उनले यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने भन्दै नागरिकले पनि त्यही बुझ्नुपर्ने धारणा राखेका थिए। तर, कांग्रेसका केही मन्त्रीहरूले यस विषयमा ओलीसँग प्रतिवाद गरेका थिए।
बैठकपछि सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल पुनः सञ्चालनमा आएको जानकारी दिए। उनले सामाजिक सञ्जाल सञ्चालक कम्पनीले नेपालमा दर्ता नहुनुको कारण ‘भ्रष्टाचार’लाई देखाएको बताएका थिए।
मन्त्री गुरुङका अनुसार प्रतिबन्ध लगाएको निर्णयप्रति सरकारले कुनै पश्चाताप नगरेको हो। तर, हालैको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको तथा चर्को विरोध र सत्तारूढ दलभित्रै दबाब बढेकाले अन्ततः सरकारले निर्णय फिर्ता लिएको हो।
गत १९ भदौमा मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरिएको थियो।
