
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनअन्तर्गत आज काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स काठमाडौंमा भिड्दैछन्।
उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले हराएर उच्च मनोबलमा रहेको काठमाण्डु आजको दोस्रो खेलमा अंक थप्न उत्साहित छ। साविक उपविजेता सुदूरपश्चिम पनि विजयी सुरुवातलाई निरन्तरता दिन चाहन्छ।
खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ। काठमाण्डुको नेतृत्व करण केसीले गर्दैछन् भने सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीका हातमा छ।

काठमाण्डुको बलियो पक्ष
काठमाण्डुले यस सिजन पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईसहित बलियो प्रशिक्षक समूह पाएको छ।
नामिबियाका कप्तान जेरार्ड एरासमस, इंग्ल्यान्डका जोन सिम्पसन र बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिकाका मिलिन्द कुमार र भारतका सन्नी पटेल विदेशी खेलाडीको रूपमा टोलीमा छन्।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका मिलिन्द कुमार आज पनि काठमाण्डुको मुख्य हतियार मानिएका छन्।
बलिङ विभागमा कप्तान करण, शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापाबाट राम्रो प्रदर्शनको अपेक्षा छ।

सुदूरपश्चिमको भरोसा कप्तान ऐरीमा
पहिलो सिजनका उपविजेता सुदूरपश्चिमले पनि विदेशी बल बढाएको छ।
न्यूजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेइलिन, अमेरिकाका हर्मित सिंह, अष्ट्रेलियाका जोश ब्राउन र क्रिस लिन टोलीमा छन्।
कप्तान दीपेन्द्रसिंह ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, हेमन्त धामी, टेक रावत, नरेन साउदलगायत खेलाडी सुदूरपश्चिमको मुख्य आधार हुन्।
तर समग्रमा टोली ऐरीकै प्रदर्शनमा धेरै निर्भर देखिन्छ।
टिकट तथा प्रतियोगिता विवरण
एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरी हुँदैछन्। क्यानले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्रीमा राखेको छ।
शनिबारका टिकट ५०० र १५००, अन्य दिन ५०० र १००० तथा प्लेअफका लागि १००० र २००० तोकिएको छ।
सिजनल टिकटको मूल्य १५ हजार छ।
एनपीएल–२ मा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज प्रतिस्पर्धामा छन्।



