डडेल्धुरा: आलिताल गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विवादित बनेको छ। पौष २५ गतेदेखि सुरु भएको प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने क्रममा विवाद उत्पन्न भएपछि विजेता घोषणा स्थगित गरिएको आयोजकले जनाएको छ।
मार्सल आर्टतर्फको कराते विधामा विवाद उत्पन्न हुँदा समग्र प्रतियोगिताको नतिजामै असर परेको हो। दुर्गा माध्यमिक विद्यालय र कृष्णकालिका माध्यमिक विद्यालयले समान १६–१६ स्वर्ण पदक प्राप्त गरेपछि उपाधि कसले जित्ने भन्ने विषय विवादित बनेको हो।
विवाद कराते विधाअन्तर्गत छात्रा तर्फ ६२ केजीमुनि र ५७ केजी तौल समूहको प्रतिस्पर्धामा देखिएको हो। आलिताल गाउँपालिकाका खेलकुद प्रशिक्षक राजेन्द्र मडैका अनुसार पहिलो दिन सम्पन्न भएको प्रतिस्पर्धापछि फाइनल खेलमा महादेव माध्यमिक विद्यालयका खेलाडी उपस्थित नभएपछि दुर्गा माध्यमिक विद्यालयलाई दुई स्वर्ण पदक प्रदान गरिएको थियो।
तर महादेव माध्यमिक विद्यालयले निर्णायकको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय गलत भएको दाबी गरेपछि विवाद चर्किएको हो। विवादपछि गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीको अध्यक्षतामा बसेको छलफलले तत्कालका लागि विवाद साम्य पारेको जनाइएको छ।
महादेव माध्यमिक विद्यालयका शिक्षक रमेश बोहराले दियालोखबरसँग कुरा गर्दै रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै छानबिनको माग गरिएको बताए। प्रारम्भिक छलफलमा गौरीशंकर माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयले छानबिन गरिनुपर्ने मागसहित आयोजकलाई निवेदन दिएका थिए। तर पछि रेफ्रीको निर्णय नै अन्तिम मानिने र आगामी वर्षदेखि खेल प्रशिक्षक निर्णायक बन्न नपाउने सहमति भएको आयोजकले जनाएको छ।
यद्यपि पछि दुर्गा माध्यमिक विद्यालयलाई प्रदान गरिएको विवादित स्वर्ण पदक घटाउनुपर्ने भन्दै बाह्य दबाब आएपछि विजेता घोषणा स्थगित गरिएको हो।
यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापक सरस्वती माध्यमिक विद्यालय, भित्रिसैनले गरेको थियो। प्रतियोगिता विवादित बनेसँगै आयोजकको भूमिकामाथि पनि प्रश्न उठेको छ। प्रतियोगिता व्यवस्थापनमा कमजोरी देखिएको भन्दै निर्णायकहरूले गुनासो गरेका छन्। पहिलो दिनमै सम्पन्न हुनुपर्ने खेलहरू दोस्रो दिनसम्म पनि नसकिँदा हतारमा कार्यक्रम सम्पन्न गर्नुपरेको उनीहरूको भनाइ छ।
समापन कार्यक्रम समेत फितलो देखिएको भन्दै यस वर्षको राष्ट्रपति रनिङ शिल्डमा अपेक्षित रौनक देखिन नसकेको सहभागीहरूको भनाइ छ। विवाद समयमै टुंगो नलाग्दा साँझ परिसक्दासमेत विजेता घोषणा हुन नसकी अर्को दिनका लागि सारिएको थियो।
उक्त विवादको अन्तिम टुंगो अब आलिताल गाउँपालिकाको जनप्रतिनिधी र सम्बन्धित व्यक्तिसंगको बैठकले लगाउने जनाइएको छ।
पदक तालिकाअनुसार दुर्गा माध्यमिक विद्यालय डोलाले १६ स्वर्ण, १० रजत र १६ कास्य पदक प्राप्त गरेको छ। कराते विधामा प्राप्त दुई विवादित स्वर्ण कायम रहेमा दुर्गा माध्यमिक विद्यालय विजेता बन्नेछ। तर ती स्वर्ण खारेज भएमा कृष्णकालिका माध्यमिक विद्यालय विजेता बन्ने देखिएको छ।
कृष्णकालिका माध्यमिक विद्यालयले १६ स्वर्ण, १० रजत र १८ कास्य पदक हात पारेको छ। महादेव माध्यमिक विद्यालयले ८ स्वर्ण, १३ रजत र ४ कास्य पदकसहित तेस्रो स्थान सुनिश्चित गरेको छ भने भुवनेश्वरी माध्यमिक विद्यालयले ५ स्वर्ण, ६ रजत र ४ कास्य पदक प्राप्त गरेको छ।
गाहा मगर दियालो खबरका कार्यकारी सम्पादक तथा संचालक हुन् । उनि समयसामयिक बिषयमा कलम चलाउछन् ।
You might also like
