व्यापक आलोचना पछि सागर ढकाल डडेल्धुराबाट चुनाव नलड्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : व्यापक आलोचना र स्थानीय दबाबपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबाट चुनाव नलड्ने निर्णय गरेका छन्।
पार्टी स्रोतका अनुसार ढकालले रास्वपा डडेल्धुरा सभापति सुरेन्द्र अवस्थीलाई समर्थन गर्दै आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। डडेल्धुरामा बाहिरबाट आएको उम्मेदवार भन्दा स्थानीय प्रतिनिधि आवश्यक रहेको आवाज पार्टीभित्र र बाहिरबाट चर्किएपछि ढकाल पछि हट्न बाध्य भएका हुन्।
स्थानीय जनमानस तथा रास्वपा कार्यकर्ताले डडेल्धुराकै उम्मेदवार अघि सार्नुपर्ने माग गरेसँगै ढकालको उम्मेदवारीलाई लिएर व्यापक आलोचना भएको थियो। यही परिस्थितिका कारण उनले सभापति अवस्थीलाई समर्थन जनाउँदै चुनावी दौडबाट बाहिरिने निर्णय लिएको बुझिएको छ।
ढकाल पछि हटेपछि अब रास्वपाबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी र जिल्ला सभापति सुरेन्द्र अवस्थीले डडेल्धुराबाट चुनाव लड्ने आकांक्षा व्यक्त गरेका छन्। यी दुईमध्ये कसले टिकट पाउँछ भन्ने विषयमा पार्टीभित्र चासो बढेको छ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सागर ढकाल डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका थिए। ढकालले १३ हजार ४३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए भने देउवाले २५ हजार ५३४ मत ल्याएर विजय हासिल गरेका थिए।
डडेल्धुराको राजनीतिमा फेरिएको यो समीकरणसँगै रास्वपाभित्रको आन्तरिक प्रतिस्पर्धा र उम्मेदवार चयन प्रक्रियाप्रति आम चासो बढ्दै गएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.